बर्दिवास । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले बर्दिवास मेडिकल कलेज खारेज गर्ने निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। शिक्षा तथा खेलकुद मन्त्रालयले गत साउन १५ गते पत्र पठाउँदै बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेज भएको जानकारी दिएको थियो।
डा. केसीले आवश्यक सबै प्रक्रिया पूरा गरी निर्माण सुरु हुने अवस्थामा पुगेको मधेश प्रदेशको सरकारी मेडिकल कलेज आयोजना खारेज गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
‘स्वास्थ्य र शिक्षा निःशुल्क, सस्तो, सुलभ र सबैको पहुँचमा पुर्याउने प्रतिबद्धतासहित निर्वाचित सरकारले आवश्यक सबै प्रक्रिया पूरा गरी निर्माण सुरु हुने अवस्थामा पुगेको मधेश प्रदेशका लागि सरकारी मेडिकल कलेजका रूपमा निर्माण गरिएको बर्दिवास मेडिकल कलेज आयोजना खारेज गर्नु अत्यन्त दुर्भाग्यपूर्ण छ,’ उनले विज्ञप्तिमा भनेका छन्।
पूर्व–पश्चिम राजमार्गमा अवस्थित बर्दिवास मधेश प्रदेशको ठूलो जनसंख्या र जनघनत्व भएको क्षेत्रका साथै बागमती प्रदेशका केही जिल्लाका नागरिकका लागि समेत सहज पहुँचमा रहेको उनले उल्लेख गरेका छन्।
सरकारी मेडिकल कलेज स्थापनाका लागि लामो संघर्ष, सत्याग्रह र जनदबाबपछि विभिन्न सरकारसँग भएका सहमतिअनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायत आवश्यक प्रक्रिया पूरा भइसकेको अवस्थामा आयोजना खारेज गरिएको उनको भनाइ छ।
डा. केसीले आयोजना खारेज हुँदा दशौँ लाख नागरिक गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा पाउने अवसरबाट प्रभावित हुने बताएका छन्।
‘गत आमनिर्वाचनमा सो प्रदेशबाट पूर्ण विजय प्राप्त गरेर आएको बालेन सरकारको यो कदमले त्यस क्षेत्रका नागरिकहरू मर्माहत छन्,’ उनले भनेका छन्।
उनले बर्दिवास मेडिकल कलेज खारेज गर्ने निर्णय तत्काल बदर गरी निर्माण कार्य अघि बढाउन सरकारसँग जोडदार माग गरेका छन्। साथै, इलाम, उदयपुर र डडेलधुरामा स्थापनाको प्रक्रियामा रहेका सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानको प्रक्रिया पनि अघि बढाउन आग्रह गरेका छन्।
डा. केसीले २४औँ सत्याग्रहका क्रममा सरकारसँग भएका सहमति अक्षरशः कार्यान्वयन गर्न र बाँकी माग पूरा गर्नसमेत माग गरेका छन्। माग पूरा नभए पुनः सत्याग्रहमा बस्ने चेतावनीसमेत उनले दिएका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्