काठमाडौं । जेरुसेलम नजिकै वेस्ट बैंकको कब्जामा रहेको प्यालेस्टिनी भूभागमा नयाँ इजरायली बस्ती विस्तार गर्ने योजनाको सात देशले कडा विरोध गरेका छन्।
फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, बेलायत, नर्वे र क्यानडाले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले एक हजार २०० भन्दा बढी नयाँ आवासीय एकाइ निर्माणका लागि टेन्डर आह्वान गरेकोप्रति आपत्ति जनाएका हुन्। उनीहरूले बस्ती विस्तारको योजना तत्काल रोक्न इजरायललाई आग्रह गरेका छन्।
संयुक्त विज्ञप्तिमा वेस्ट बैंकमा इजरायली बसोबासीबाट प्यालेस्टिनी सर्वसाधारणमाथि भइरहेको हिंसा तथा प्यालेस्टिनी अर्थतन्त्रमाथि लगाइएका प्रतिबन्धका कारण क्षेत्रको अवस्था पहिले नै नाजुक रहेको उल्लेख गरिएको छ।
ई–१ योजनामाथि आपत्ति
इजरायलले गत वर्ष स्वीकृत गरेको ‘ई–१’ योजनाअन्तर्गत पूर्वी जेरुसेलम र वेस्ट बैंकबीचको क्षेत्रमा नयाँ इजरायली बस्ती निर्माण गर्न लागेको हो।
आलोचकहरूले ई–१ योजनाले पूर्वी जेरुसेलमलाई वेस्ट बैंकबाट अलग गर्ने र भविष्यमा स्वतन्त्र प्यालेस्टिनी राष्ट्र निर्माणको सम्भावनालाई कमजोर बनाउने बताएका छन्।
संयुक्त राष्ट्रसंघले पनि ई–१ योजनाले भौगोलिक रूपमा अखण्ड र स्वतन्त्र प्यालेस्टिनी राष्ट्र निर्माणको सम्भावनामा गम्भीर असर पार्न सक्ने भन्दै यसप्रति चिन्ता व्यक्त गर्दै आएको छ।
सात देशले पछिल्लो बस्ती विस्तारको निर्णयले क्षेत्रीय तनाव थप बढाउने भन्दै इजरायललाई अन्तर्राष्ट्रिय कानुन तथा दुई राष्ट्र समाधानको सम्भावना कमजोर पार्ने गतिविधि रोक्न आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्