काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले एक साताको अन्तरालमा दिवंगत भएका नेपाली साहित्यका दुई विशिष्ट साधक डा. राजेन्द्र विमल र जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘विमल/दुर्गा शब्दाञ्जली’ कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै साहित्यकारप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सर्जक धीरेन्द्र प्रेमर्षि र आर. मानन्धरले दुवै स्रष्टाको योगदान र व्यक्तित्वबारे स्मृतिपत्र प्रस्तुत गरेका थिए।
सर्जक प्रेमर्षिले डा. राजेन्द्र विमलको कथा लेखन, लेखन प्रवृत्ति, मैथिली भाषामा रहेका रचना तथा उनको व्यवहार र व्यक्तित्वबारे चर्चा गरे। उनले डा. विमलको पहिलो कथा ‘पोष्टमार्टम’ २०४७ सालमा मधुपर्क मासिकमा प्रकाशित भएको स्मरण गर्दै उनी अत्यन्त अध्ययनशील र ज्ञानको अथाह भण्डार भएको बताए।
डा. विमलले नेपाली र मैथिली साहित्यको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै प्रेमर्षिले उनीसँगका विभिन्न स्मृतिसमेत सुनाए।
त्यस्तै, सर्जक आर. मानन्धरले जनकवि दुर्गालाल श्रेष्ठमाथि स्मृतिपत्र प्रस्तुत गर्दै श्रेष्ठ जीवनको गीत गाउने गायक र कवि भएको बताए। उनले दुर्गालाल सामान्य कवि नभई असामान्य परिस्थितिबाट जन्मिएका असाधारण सर्जक भएको उल्लेख गरे।
दुर्गालालको जीवन असामान्य घटनाहरूको शृङ्खला भएको चर्चा गर्दै मानन्धरले संगीत सुन्दै त्यसमा शब्द भर्न सहज मान्ने उनको सिर्जनशील प्रवृत्तिबारे बताए। उनले जनकविको चर्चित गीत ‘फूलको आँखामा…’ को सिर्जना प्रसङ्गसमेत स्मरण गरे।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलगायतले दुवै स्रष्टाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको साहित्यिक योगदानबारे धारणा राखेका थिए।
सो अवसरमा विजेता चौधरीले डा. विमलको मैथिली कविता वाचन गरिन्। प्राज्ञ प्रतिसरा सायमीले कवि दुर्गालालको नेपाल भाषाको कविता प्रस्तुत गरिन्। त्यस्तै, कवि प्रह्लाद पोखरेलले डा. विमलमाथि लेखेको कविता र कवि रजनीमिलाले दुर्गालाल श्रेष्ठमाथि रचेको कविता वाचन गरेकी थिइन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्