काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कार घोषणा गरिएको छ।
गिरीको चौथो वार्षिक स्मृति दिवसका अवसरमा शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा फेलोसिप तथा निबन्ध पुरस्कार घोषणा गरिएको हो।
कांग्रेस सभापति गगन थापाले गिरीको अध्ययनशील स्वभाव र सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवित राख्ने उद्देश्यले दुई विधामा फेलोसिप सञ्चालन गर्न लागिएको जानकारी दिए।
‘विचार, अध्ययन र अनुसन्धान’मा चार फेलो
‘प्रदीप गिरी फेलोसिप’लाई ‘विचार, अध्ययन र अनुसन्धान’ तथा ‘कर्म र न्याय’ गरी दुई विधामा विभाजन गरिएको छ।
‘विचार, अध्ययन र अनुसन्धान’ विधाअन्तर्गत चार जना अध्येतालाई फेलोसिप प्रदान गरिनेछ। नेपाली राजनीति, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता, दर्शन र साहित्यका क्षेत्रमा अनुसन्धान, पुस्तक लेखन तथा दस्तावेजीकरणका लागि फेलोसिप उपलब्ध गराइनेछ।
यस क्रममा प्रदीप गिरीको व्यक्तित्व, मधेससम्बन्धी दृष्टिकोण तथा उनको दार्शनिक जीवनमाथि गरिने शोधलाई प्राथमिकता दिइने प्रतिष्ठानले जनाएको छ।
फेलोहरूले निश्चित पारिश्रमिकका साथै सम्पादकीय मार्गदर्शन र पुस्तकालयको सुविधा प्राप्त गर्नेछन्।
‘कर्म र न्याय’मा कानुन व्यवसायीलाई फेलोसिप
‘कर्म र न्याय’ विधाअन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीलाई फेलोका रूपमा छनोट गरिनेछ।
उनीहरूले एक वर्षसम्म कानुनी सहायता डेस्क सञ्चालन गर्दै जातीय विभेद, भूमि विवाद तथा नागरिकताबाट वञ्चित सीमान्तकृत र दलित समुदायसँग सम्बन्धित कम्तीमा २० वटा मुद्दामा निःशुल्क कानुनी पैरवी गर्नेछन्।
सभापति थापाका अनुसार व्यक्तिगत पीडालाई सार्वजनिक अभिलेखका रूपमा स्थापित गर्दै नीति निर्माणमा आवश्यक दबाब सिर्जना गर्नु यो कार्यक्रमको उद्देश्य हो।
‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कार
गिरीको राजनीतिक संस्कार र आलोचनात्मक चेतलाई सम्मान गर्दै कांग्रेसले ‘निष्ठामूलक असहमति’ शीर्षकमा वार्षिक निबन्ध पुरस्कारसमेत घोषणा गरेको छ।
रचनात्मक आलोचनाका आधारमा लेखिएका उत्कृष्ट निबन्धलाई उक्त पुरस्कार प्रदान गरिने सभापति थापाले जानकारी दिए।
फेलोसिप तथा पुरस्कार कुनै राजनीतिक दलमा आबद्ध वा निरपेक्ष सबै योग्य नेपाली नागरिकका लागि खुला रहने जनाइएको छ।
आगामी कात्तिक २४ गते प्रदीप गिरीको जन्मजयन्तीदेखि आवेदन खुला गरिनेछ। छनोट प्रक्रिया निष्पक्ष बनाउन कुनै पनि राजनीतिक दलको बहालवाला पदमा नरहेका व्यक्तिहरू सम्मिलित स्वतन्त्र निर्णायक समिति गठन गरिने बताइएको छ।
मंसिर मसान्तभित्र फेलोहरूको छनोट गरिने र कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिइने कांग्रेसले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्