काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता तथा कार्यकर्ताले आलोचना र निन्दाबीचको फरक छुट्याउन छोडेको बताएका छन्।
शनिबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ संवाद कार्यक्रममा बोल्दै थापाले आलोचनालाई निन्दा र समर्थनलाई पूर्ण समर्थनका रूपमा बुझ्ने प्रवृत्ति बढेको बताए।
कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा थापाले भने, ‘हामी एउटा चरम अवस्थामा पुगेर आलोचना र निन्दाबीचको फरक छुट्याउन छोडेका छौँ। एकैचोटि निन्दामा पुग्छौँ। फेरि अर्को कोणबाट पूर्ण समर्थनमा पुग्छौँ, जहाँ कुनै प्रश्न नै हुँदैन।’
थापाले प्रदीप गिरी भने आलोचना र पूर्ण समर्थन दुवैभन्दा फरक रहेको बताए। पार्टीका बैठकमा अन्य नेताहरू कुन पक्षमा छन् भन्ने उनीहरूको अभिव्यक्तिबाटै अनुमान गर्न सकिने भए पनि गिरीले बोल्दा उनले के धारणा राख्ने भन्ने अनुमान गर्न कठिन हुने गरेको उनको भनाइ छ।
‘हामीले पार्टी कार्यालयका बैठकहरूमा थुप्रै साथीहरूसँग काम गर्यौँ। अरूको अनुमान गर्न सकिन्थ्यो—दायाँपट्टि बसेको हो कि बायाँपट्टि, अहिले सभापतिको पक्षमा बोल्छ कि यता बोल्छ भन्ने। तर प्रदीप गिरी बोल्न उठ्दै गर्दा उहाँले के बोल्नुहुन्छ भन्ने अनुमान नै गर्न सकिँदैनथ्यो,’ थापाले भने।
प्रदीप गिरीप्रति सबैमा एक प्रकारको आकर्षण रहेको उल्लेख गर्दै थापाले गिरी आफ्ना निश्चित सिद्धान्त र मान्यतामा दृढ रहे पनि उनको असहमति निन्दा गर्ने खालको नरहेको बताए।
‘उहाँ भित्रैदेखि बोल्नुहुन्थ्यो, उहाँका आफ्नै निश्चित सिद्धान्तहरू थिए। तर उहाँको असहमति निन्दाभन्दा धेरै पर थियो र सधैँ गरिने पूर्ण समर्थनभन्दा पनि फरक थियो,’ थापाले भने।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्