काठमाडौँ । सहरी क्षेत्रमा सवारीसाधनको संख्या तीव्र गतिमा बढ्दै जाँदा ट्राफिक जाम, वायु प्रदूषण र ध्वनि प्रदूषण नेपालको प्रमुख सहरी चुनौतीका रूपमा देखिन थालेका छन्। विशेषगरी काठमाडौँ उपत्यकासहित ठूला सहरमा सडकको क्षमताभन्दा बढी सवारीसाधन सञ्चालन हुँदा दैनिक जीवन, अर्थतन्त्र र जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको सरोकारवालाहरू बताउँछन्।
पुराना तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सवारीसाधन, बढ्दो निजी सवारीको प्रयोग र सडक व्यवस्थापनको कमजोरीका कारण सहरी क्षेत्रको वायु गुणस्तरमा समेत नकारात्मक असर परेको छ। ट्राफिक जामका कारण सवारीसाधन लामो समयसम्म सडकमा रोकिनुपर्दा इन्धनको खपत बढ्नुका साथै प्रदूषण पनि थपिने गरेको छ।
काठमाडौँ उपत्यकामा छोटो दूरी पार गर्नसमेत लामो समय जाममा बस्नुपर्ने अवस्था बनेको छ। यसले नागरिकको समय र इन्धन मात्र खेर गएको छैन, मानसिक तनाव र आर्थिक क्षतिसमेत बढाएको छ।
सडक विस्तारभन्दा चोक सुधार प्रभावकारी
सडक विभागका पूर्वमहानिर्देशक तथा इन्जिनियर नरेश शाक्यले सवारीसाधनको संख्या बढेको अनुपातमा सडकको लम्बाइ वा चौडाइ निरन्तर बढाइरहनु व्यावहारिक समाधान नभएको बताएका छन्।
उनका अनुसार उपलब्ध सडक संरचनालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नु र मुख्य चोकहरूको सुधार गर्नु नै ट्राफिक व्यवस्थापनको दीर्घकालीन उपाय हुन सक्छ।
“केही वर्षयता चोकहरूमा अत्यधिक समय लाग्दै आएको छ,” उनले भने, “कलङ्की चोकको उदाहरण हेर्दा अन्डरपास निर्माण हुनुअघि बल्खुदेखि सीतापाइला र ढुङ्गेअड्डादेखि सोल्टीमोडसम्म जाम हुने अवस्था थियो। अन्डरपास बनेपछि त्यस क्षेत्रमा ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार आएको छ।”
शाक्यका अनुसार एउटा महत्वपूर्ण चोकको वैज्ञानिक सुधारले त्यससँग जोडिएका धेरै सडकखण्डको ट्राफिक व्यवस्थापनमा सकारात्मक प्रभाव पार्न सक्छ। जाम कम हुँदा सवारीसाधनबाट निस्कने धुवाँ र प्रदूषण पनि घट्ने उनको भनाइ छ।
नयाँ बानेश्वरमा अन्डरपास वा ओभरपासको आवश्यकता
ट्राफिक व्यवस्थापनका लागि नयाँ बानेश्वर चोकजस्ता व्यस्त क्षेत्रको संरचनात्मक सुधार आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
इन्जिनियर शाक्यका अनुसार सडकलाई केवल चौडा बनाउँदैमा समस्या समाधान हुँदैन। विभिन्न दिशाबाट आउने सवारीलाई प्राथमिकताका आधारमा आवागमनको व्यवस्था मिलाउनुपर्ने हुन्छ।
नयाँ बानेश्वर क्षेत्रमा माइतीघर–तीनकुने र शङ्खमूल–मध्यबानेश्वर दिशाको सवारी चापलाई अलग–अलग व्यवस्थापन गर्न अन्डरपास वा ओभरपास उपयोगी हुन सक्ने उनको सुझाव छ।
राजधानीका प्रमुख चोकहरूलाई क्रमशः वैज्ञानिक ढंगले सुधार गर्दै जाने हो भने सवारीसाधनको संख्या बढे पनि जामको समस्या धेरै हदसम्म नियन्त्रण गर्न सकिने उनको विश्वास छ।
निजी सवारीको चाप घटाउनुपर्ने सुझाव
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले ट्राफिक व्यवस्थापन र वायु प्रदूषण नियन्त्रणका लागि निजी सवारीसाधनको प्रयोग घटाउँदै सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
उनका अनुसार काठमाडौँ उपत्यकामा निजी सवारीसाधनको संख्या अत्यधिक बढिसकेको छ। सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो, समयमै उपलब्ध र सुविधायुक्त बनाउन सके निजी सवारीको प्रयोग स्वाभाविक रूपमा घटाउन सकिन्छ।
“निजी सवारीसाधनको संख्या नियन्त्रण नगरे काठमाडौँको ट्राफिक अवस्था अझ जटिल बन्न सक्छ,” उनले भने।
सहरी यातायात व्यवस्थापनमा निजी सवारीको संख्या मात्र नियन्त्रण गर्नु पर्याप्त नहुने र त्यसका लागि गुणस्तरीय सार्वजनिक यातायात प्रणाली विकास गर्नुपर्ने विज्ञहरूको पनि धारणा छ।
सडक छन्, तर सवारी सहरमै केन्द्रित
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति तथा यातायातविज्ञ इन्जिनियर आशिष गजुरेलले नेपालमा सडक सञ्जाल विस्तार भए पनि सवारीसाधन केही सीमित सहरी क्षेत्रमा केन्द्रित हुँदा समस्या बढेको बताएका छन्।
उनका अनुसार नेपालभर करिब ५८ लाख सवारीसाधन दर्ता भएका छन् भने एक लाख किलोमिटरभन्दा बढी सडक सञ्जाल सञ्चालनमा छ। तर सवारीको ठूलो हिस्सा काठमाडौँ उपत्यकासहित केही प्रमुख सहरमा केन्द्रित हुँदा जाम र प्रदूषणको समस्या तीव्र देखिएको छ।
उनले सवारीसाधनको वितरण असमान रहेको उल्लेख गर्दै कतिपय दुर्गम तथा पहाडी जिल्लामा सडक पुगे पनि सवारीसाधनको आवागमन न्यून रहेको बताए। अर्कोतर्फ जनघनत्व र आर्थिक गतिविधि केन्द्रित भएका सहरमा सवारी चाप अत्यधिक छ।
ऐतिहासिक क्षेत्रमा ‘कार फ्री जोन’को प्रस्ताव
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न तयार पारिएको ‘काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा प्रमुख ऐतिहासिक, सांस्कृतिक र व्यापारिक क्षेत्रलाई ‘कार फ्री जोन’ बनाउने प्रस्ताव गरिएको छ।
प्रस्तावअनुसार काठमाडौँको वसन्तपुर र ठमेल तथा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रलाई सवारीसाधनरहित क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।
यस्तै, उपत्यकाका प्रमुख विश्वसम्पदा क्षेत्रलाई साइकल लेनमार्फत जोड्ने योजनासमेत रहेको छ। काठमाडौँमा करिब ५८ किलोमिटर सडकमा समर्पित साइकल लेन निर्माण गर्ने प्रस्ताव गरिएको छ।
यस्ता योजना प्रभावकारी रूपमा कार्यान्वयन भएमा निजी सवारीको चाप कम हुनुका साथै पैदलयात्रा, साइकल प्रयोग र सार्वजनिक यातायातलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
दीर्घकालीन समाधान आवश्यक
सहरी ट्राफिक समस्या केवल सडक चौडा गरेर मात्र समाधान गर्न नसकिने देखिएको छ। बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न वैज्ञानिक चोक सुधार, अन्डरपास तथा ओभरपास, प्रभावकारी सार्वजनिक यातायात, साइकल पूर्वाधार, पैदलमैत्री सडक र आवश्यक क्षेत्रमा कार फ्री जोन जस्ता उपायलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।
सहरीकरण र सवारीसाधनको संख्या निरन्तर बढिरहेका बेला योजनाबद्ध यातायात नीति कार्यान्वयन गर्न नसकिए काठमाडौँलगायत नेपालका प्रमुख सहरमा ट्राफिक जाम र प्रदूषण अझ गम्भीर चुनौती बन्ने सरोकारवालाहरूको चेतावनी छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्