सल्यान । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण बढ्दै गएको छ। संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।
दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ का ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको हो। ज्वरो आएपछि गरिएको परीक्षणमा किटमार्फत संक्रमण पुष्टि भएको थियो।
खड्कालाई मधुमेहको समस्या समेत रहेको र फोक्सोमा पानी जमेको अवस्थामा थप उपचारका लागि रिफर गरिएको थियो। उनलाई दाङ हुँदै नेपालगन्ज लगिएकोमा घर फर्किने क्रममा बाटोमै मृत्यु भएको बस्नेतले जानकारी दिए।
संक्रमण बढ्दै गएपछि शनिबार थप एक जना बिरामीलाई विशेष उपचारका लागि नेपालगन्ज पठाइएको छ। गाउँपालिका–३ मा ज्वरो आएका बिरामीमध्ये २५ जनाभन्दा बढीमा स्क्रबटाइफस पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख बस्नेतका अनुसार पछिल्लो एक सातादेखि ज्वरोका बिरामीको संख्या बढिरहेको छ। परीक्षण गरिएका बिरामीमध्ये दैनिक चारदेखि पाँच जनासम्ममा स्क्रबटाइफस पुष्टि भइरहेको उनले बताए।
‘एक सातादेखि यो समस्या देखिन थालेको छ। ज्वरोका बिरामी पनि बढिरहेका छन्। परीक्षण गर्दा दैनिक चार–पाँच जनामा स्क्रबटाइफस पुष्टि भइरहेको छ,’ उनले भने।
अन्य वडामा पनि व्यापक रूपमा परीक्षण गरे थप संक्रमित भेटिन सक्ने स्वास्थ्य शाखाको अनुमान छ। संक्रमण नियन्त्रण, परीक्षण तथा उपचार व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारका सम्बन्धित निकायसँग सहयोग माग्ने तयारी गरिएको बस्नेतले बताए।
गत वर्ष पाँच सयभन्दा बढी संक्रमित
दार्मा गाउँपालिकामा गत वर्ष पनि स्क्रबटाइफसको संक्रमण व्यापक फैलिएको थियो। त्यसबेला पाँच सयभन्दा बढी व्यक्ति संक्रमित भएका थिए भने चार जनाको मृत्यु भएको थियो।
यस वर्ष पनि संक्रमण देखिन थालेपछि गाउँपालिकाले नियन्त्रण तथा उपचार व्यवस्थापनमा सक्रियता बढाएको जनाएको छ।
कसरी सर्छ स्क्रबटाइफस?
चिकित्सकका अनुसार स्क्रबटाइफस संक्रमित माइटको टोकाइबाट सर्ने रोग हो। संक्रमित माइटमा पाइने ‘ओरिएन्सिया सुसुगामुसी’ नामक जीवाणुका कारण यो संक्रमण हुने गर्छ।
यस्ता माइट झाडी, खेतबारी, वनजंगल तथा घर आसपासका घाँस र झाडी भएका स्थानमा पाइने गर्छन्।
संक्रमणबाट जोगिन खेतबारी, वनजंगल वा झाडीमा जाँदा शरीर ढाकिने कपडा लगाउन तथा सम्भव भएसम्म बुट प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। घर आसपासका झाडी तथा घाँस नियमित सफा राख्न र चउर तथा झाडी भएका स्थानमा अनावश्यक रूपमा नबस्न पनि आग्रह गरिएको छ।
ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्नेलगायत लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्