गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी निर्माण गरेको एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन थालेको छ। ढुङ्गाबाट निर्माण गरिएको उक्त संरचना टाढाबाट हेर्दा विश्वप्रसिद्ध ग्रेटवालको झल्को दिने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको हो।
धुर्कोट गाउँपालिका–६ मा रहेको धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाको पर्खाल चिरेर निर्माण गरिएको पैदलमार्गलाई गाउँपालिकाले ‘धुर्कोट ग्रेटवाल’ नाम दिएको हो। यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ्खलाका साथै चारैतिरका मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ।
विशेषगरी सार्वजनिक बिदाका दिन घुमफिर, तस्बिर तथा भिडियो खिच्न र सामाजिक सञ्जालका लागि सामग्री बनाउन जिल्लाभित्र तथा बाहिरबाट पर्यटक पुग्ने गरेका छन्। सामाजिक सञ्जालमा धुर्कोट ग्रेटवालका तस्बिर तथा भिडियो सार्वजनिक हुन थालेपछि यसको चर्चा पनि बढेको स्थानीयको भनाइ छ।
पर्यटन प्रवर्द्धनमा जोड
धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले ग्रेटवाल निर्माणपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए। पर्यटकलाई कम्तीमा दुई दिनसम्म धुर्कोटमा बस्ने वातावरण बनाउने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
पैदलमार्ग निर्माण गर्दै जाँदा संरचना ग्रेटवालको स्वरूपमा देखिएपछि त्यसलाई ‘धुर्कोट ग्रेटवाल’ नाम दिइएको अध्यक्ष पोखरेलले बताए।
“धुर्कोटको पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक धुर्कोटकोट तथा सङ्ग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेटवाल र सहिद पार्क निर्माण गरी पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने पालिकाको योजना छ,” उनले भने।
पर्यटन गतिविधि बढेसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान हुने, रोजगारीका अवसर सिर्जना हुने तथा स्थानीयको आयआर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
तीन करोडभन्दा बढी लगानी
गाउँपालिकाका अनुसार धुर्कोट ग्रेटवाल निर्माणमा कुल तीन करोड २३ लाख रुपैयाँ खर्च भएको छ। निर्माणमा गाउँपालिकाको ७० प्रतिशत र सङ्घीय सरकारको ३० प्रतिशत लगानी रहेको छ।
ऐतिहासिक धुर्कोटकोटमा समेत विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। बुढीकोट क्षेत्रमा ग्रेटवालसँगै विशाल शिवको मूर्ति, मन्दिर तथा अन्य मनोरञ्जनात्मक संरचना निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद पन्थीले बताए।
दुई हजारभन्दा बढी बिरुवा रोपियो
पर्यटकीय क्षेत्रलाई हराभरा र आकर्षक बनाउन ग्रेटवालको दायाँबायाँ तथा बुढीकोट क्षेत्रमा विभिन्न प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपिएको गाउँपालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिइन्।
रोपिएका बिरुवा तथा पर्यटकीय पूर्वाधारको संरक्षण र हेरचाहका लागि गाउँपालिकाले हेरालुको समेत व्यवस्था गरेको छ।
ग्रेटवाल हुँदै पैदलयात्रा गर्दा विशाल शिवको मूर्ति रहेको स्थानमा पुग्न सकिन्छ। उक्त स्थानबाट गुल्मी जिल्लाको करिब ८० प्रतिशत भूभाग देख्न सकिने अध्यक्ष पोखरेलले बताए।
अग्लो डाँडाबाट देखिने प्राकृतिक दृश्य, हरियाली वनजङ्गल र टाढासम्म फैलिएका हिमशृङ्खलाले पर्यटकलाई थप आकर्षित गरेको स्थानीय चुरा भण्डारीले बताए। सामाजिक सञ्जालमा तस्बिर, भिडियो तथा टिकटक सामग्री सार्वजनिक हुन थालेपछि धुर्कोट ग्रेटवाल गुल्मीको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीयको भनाइ छ।
स्रोत : रासस
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्