ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत भ्रमणमा हतार छैन : राष्ट्रिय हितअनुकूल सहमति भए मात्र दिल्ली जाने बंगलादेशका प्रधानमन्त्री रहमान


ABC NEWS
७ भदौ २०८३, आइतबार   ८ : ४५   बजे

काठमाडौं । बंगलादेशका क्याबिनेट मन्त्री हुमायुँ कबीरले प्रधानमन्त्री तारिक रहमानको प्रस्तावित भारत भ्रमण तत्काल नहुने संकेत गरेका छन्। दुई देशबीच द्विपक्षीय वार्तामा पर्याप्त प्रगति र ठोस सहमति भएपछि मात्र प्रधानमन्त्री रहमान भारत भ्रमणमा जाने उनले बताएका छन्।

ढाकामा आयोजित एक कार्यक्रममा मन्त्री कबीरले बंगलादेश भारतसँग सकारात्मक, स्थिर र सौहार्दपूर्ण सम्बन्ध कायम गर्न इच्छुक रहेको स्पष्ट पारे। तर, सम्बन्ध सुधारका नाममा राष्ट्रिय हितसँग सम्झौता नगरिने उनको भनाइ थियो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशका प्रधानमन्त्री रहमानलाई द्विपक्षीय वार्ताका लागि नयाँ दिल्ली आउन निमन्त्रणा दिएका छन्। साथै, आगामी सेप्टेम्बर १२ र १३ मा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनको आउटरिच सत्रमा सहभागी हुनसमेत निमन्त्रणा गरिएको बताइएको छ।

भ्रमणको सम्भावित समयबारे गरिएको प्रश्नमा मन्त्री कबीरले शीर्ष नेतृत्वबीचको बैठक केवल औपचारिकताका लागि हुन नहुने बताएका छन्। उनका अनुसार भ्रमणअघि दुवै देशले छलफलका प्रमुख मुद्दा, सम्भावित सहमति र द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिने आधार तयार गर्नुपर्नेछ।

‘एजेन्डा र उपलब्धि स्पष्ट भएपछि मात्र भ्रमण’

मन्त्री कबीरले प्रधानमन्त्रीस्तरीय भ्रमणका लागि पर्याप्त तयारी आवश्यक पर्नेमा जोड दिएका छन्। दुई देशबीच केही महत्वपूर्ण विषयमा समझदारी र ठोस प्रगति हुन सकेमा मात्र भ्रमणले अपेक्षित परिणाम दिन सक्ने उनको भनाइ छ।

उनले बंगलादेश भारतसँग सम्बन्ध सुधार गर्न चाहेको बताए पनि ढाकाले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे। त्यसैले प्रस्तावित दिल्ली भ्रमणको मिति तय गर्नुभन्दा पहिले वार्ताका एजेन्डा र सम्भावित उपलब्धिबारे सहमति आवश्यक रहेको उनको संकेत थियो।

यसलाई पछिल्लो समय केही चिसिएको भारत–बंगलादेश सम्बन्धलाई पुनः सामान्य बनाउने सम्भावित अवसरका रूपमा पनि हेरिएको छ। तर, दुवै देशबीच रहेका संवेदनशील राजनीतिक मुद्दाले भ्रमणको वातावरणलाई जटिल बनाएको देखिन्छ।

शेख हसिनाको मुद्दाले बढाएको संवेदनशीलता

सन् २०२४ को अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार पतन भएपछि भारत र बंगलादेशबीचको सम्बन्धमा दूरी बढेको थियो। हसिना भारतमा रहँदै आएकी छन् भने बंगलादेशले उनलाई स्वदेश फर्काउन तथा कानुनी प्रक्रियाका लागि सुपुर्दगी गर्न भारतसँग माग गर्दै आएको छ।

यही विषय अहिले दुई देशबीचको सबैभन्दा संवेदनशील राजनीतिक मुद्दामध्ये एक बनेको छ।

सम्बन्ध सुधारका प्रयास भइरहेका बेला शेख हसिनाले गत अगस्ट ५ मा नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत दिएको वक्तव्यले पनि ढाका र नयाँ दिल्लीबीचको राजनीतिक संवेदनशीलता थप बढाएको बताइएको छ। हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने र लोकतन्त्र पुनर्बहालीका लागि सक्रिय हुने दाबी गरेकी थिइन्।

बंगलादेशले भने हसिनाको सुपुर्दगीको विषयलाई गम्भीरतापूर्वक उठाउँदै आएको छ। भारतका लागि पनि यो विषय राजनीतिक र कूटनीतिक रूपमा संवेदनशील बनेको छ।

सम्बन्ध सुधारको अवसर कि नयाँ कूटनीतिक परीक्षा?

प्रधानमन्त्री रहमानको सम्भावित भारत भ्रमणलाई केवल औपचारिक भेटघाटका रूपमा नभई दुई देशबीचको नयाँ राजनीतिक सम्बन्धको परीक्षणका रूपमा हेरिएको छ। ढाकाले भारतसँग आर्थिक, व्यापारिक, सुरक्षा तथा क्षेत्रीय सहकार्यलाई अघि बढाउन चाहेको छ।

तर, शेख हसिनाको भारत बसाइ, उनको राजनीतिक गतिविधि र सुपुर्दगीको मागजस्ता विषयले सम्बन्धलाई सहज बनाउने प्रक्रिया जटिल बनाएका छन्।

त्यसैले प्रधानमन्त्री रहमानको दिल्ली भ्रमण तत्काल हुनेभन्दा पनि दुवै पक्षबीच पर्याप्त कूटनीतिक तयारी, एजेन्डामा सहमति र राष्ट्रिय हितअनुकूल ठोस परिणाम सुनिश्चित भएपछि मात्र अघि बढ्ने संकेत बंगलादेश सरकारले दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

तेहरान जाँदै पाकिस्तानी सेना प्रमुख आसिम मुनिर, इरानसँग सुरक्षा र द्विपक्षीय सहकार्यमा केन्द्रित हुने

मनुस्मृतिबारे राहुलको अभिव्यक्तिले भारतमा राजनीतिक विवाद चर्कियो

आकाशमै वितण्डा : रक्सीको नशामा युवतीले विमानभित्र कपडा खोलेपछि हंगामा

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

ककरोच जनता पार्टीका संस्थापक दीपकेविरुद्ध जाहेरी दर्ता

जापानमा नेपाली युवती मृत फेला, हत्याको आशंकामा प्रहरी अनुसन्धान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu