काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रण गर्ने गरी भ्रामक प्रचार भइरहेको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।
सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थका लागि भट्टराईलाई गलत ढंगबाट प्रस्तुत गर्ने प्रयास गरिरहेको जनाएको हो।
विज्ञप्तिमा पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमरोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर सामाजिक सञ्जालमा फैलाउनेजस्ता गतिविधि भइरहेको उल्लेख छ। यस्ता सामग्रीबाट धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्न सक्ने भन्दै सचिवालयले आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
सचिवालयले यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
धर्मनिरपेक्षताको अर्थबारे सचिवालयको स्पष्टीकरण
सचिवालयले धर्मनिरपेक्षता कुनै धर्मको विरोध नभएको स्पष्ट पारेको छ। राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु तथा प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने, आस्था राख्ने वा नराख्ने स्वतन्त्रता सुनिश्चित गर्नु धर्मनिरपेक्षताको मूल मर्म भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञानमा विश्वास गर्नु वा नास्तिक हुनु पनि व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको सचिवालयले जनाएको छ।
हिन्दु धर्मभित्रको जातव्यवस्था तथा सामाजिक असमानताका विषयमा प्रश्न उठाउनु कुनै धर्मविरोधी गतिविधि नभएको पनि सचिवालयले जनाएको छ। कुनै पनि धर्म, संस्कृति वा परम्पराभित्र रहेका सामाजिक अभ्यासमाथि प्रश्न उठाउनु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया भएको उसको भनाइ छ।
धम्कीप्रति आपत्ति
भट्टराईलाई लक्षित गरी धम्कीपूर्ण तथा भय सिर्जना गर्ने सामग्रीसमेत सामाजिक सञ्जालमा पोस्ट भइरहेको सचिवालयले जनाएको छ।
यस्ता गतिविधिले व्यक्तिको सुरक्षा र प्रतिष्ठामा मात्र नभई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतामा समेत असर पार्न सक्ने भन्दै सचिवालयले सरकारलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ।
सचिवालयले यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेको छ। साथै, अभिव्यक्ति तथा वैचारिक स्वतन्त्रताको सम्मान गर्दै धार्मिक आस्था, व्यक्तिगत सुरक्षा, प्रतिष्ठा र सामाजिक सद्भावमा आघात पुर्याउने गतिविधिमा राज्यले प्रभावकारी कानुनी हस्तक्षेप गर्नुपर्ने जनाएको छ।
सचिवालयले जारी गरेको विज्ञप्तिमा धार्मिक स्वतन्त्रता, वैचारिक स्वतन्त्रता, वैज्ञानिक चेतना, सामाजिक न्याय र सहिष्णुताको रक्षा गर्दै घृणा, हिंसा तथा विभाजन फैलाउने प्रयासलाई निरुत्साहित गर्नुपर्ने उल्लेख छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्