इस्लामावाद । पाकिस्तानका २१ जना पूर्वक्रिकेट कप्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री सहबाज सरिफलाई संयुक्त पत्र पठाएका छन्। उनीहरूले इमरान खानलाई आवश्यक र उचित स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरेका छन्।
क्रिकइन्फोका अनुसार पत्रमा पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई अस्पताल लगेर मेडिकल बोर्डमार्फत स्वास्थ्य परीक्षण गराउन आदेश दिएको उल्लेख गरिएको छ। अदालतको आदेशअनुसार बोर्डमा इमरानका निजी चिकित्सक तथा उनकी बहिनी डा. उज्मा खानलाई समेत समावेश गर्नुपर्ने थियो। अदालतले परिवारका सदस्यलाई साप्ताहिक भेटघाटको अनुमति दिनसमेत आदेश दिएको थियो।
गत मङ्सिर २ गते पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई सेप्टेम्बर १६ सम्म अस्पतालमै राखेर उपचार गर्न आदेश दिएको थियो। त्यसपछि बिहीबार राति उनलाई अदियाला जेलबाट इस्लामाबादस्थित सिफा अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो। तर आवश्यक उपचार नदेखिएको भन्दै भोलिपल्ट बिहानै उनलाई जेल फर्काइएको थियो।
अदालतको आदेश कार्यान्वयन नभएको आरोप
पूर्वकप्तानहरूले प्रधानमन्त्रीलाई पठाएको पत्रमा इमरान खानलाई अस्पतालमा केही घण्टा मात्र राखिएको उल्लेख गरेका छन्। अदालतको निर्देशनअनुसार गठन गरिएको मेडिकल बोर्डको सट्टा सरकारले नियुक्त गरेको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको उनीहरूको दाबी छ।
इमरान खानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै पूर्वक्रिकेट कप्तानहरूले पाकिस्तानी प्रधानमन्त्रीलाई पत्र पठाएको यो दोस्रो पटक हो। यसअघि गत फेब्रुअरीमा १४ जना पूर्वकप्तानले पनि इमरानको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएका थिए।
त्यतिबेला इमरान खानको परिवारले उनको एउटा आँखाको दृष्टि लगभग पूर्ण रूपमा गुमेको र जेलमा उचित उपचार नपाएको दाबी गरेको थियो।
पत्रमा हस्ताक्षर गर्ने पूर्वकप्तान
पत्रमा माइकल एथर्टन, एलेक्स ब्ल्याकवेल, एलन बोर्डर, माइकल ब्रेअर्ली, ग्रेग च्यापेल, इयान च्यापेल, बेलिन्डा क्लार्क, एलिस्टर कुक, सुनिल गावस्कर, ली जर्मोन, एडम गिलक्रिस्ट, डेभिड गोवर, किम ह्युजेस, नासेर हुसेन, क्लाइभ लोयड, कपिल देव, अर्जुन रणतुंगा, एन्ड्रयु स्ट्रस, दिलीप भेङ्गसरकर, स्टिभ वा र जोन राइटले हस्ताक्षर गरेका छन्।
पूर्वप्रधानमन्त्री इमरान खान स्वयं पनि पाकिस्तानका पूर्वक्रिकेट कप्तान हुन्। सन् १९९२ मा उनको कप्तानीमा पाकिस्तानले क्रिकेट विश्वकप जितेको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्