ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ। सम्मेलनसँगै ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत गरिने भएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले सम्मेलन महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गर्न लागिएको जानकारी दिए।
सम्मेलनले विशेषगरी स्टार्टअप, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई र एसएमई) क्षेत्रमा सक्रिय महिला उद्यमीलाई साझा मञ्च प्रदान गर्नेछ। अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङ सम्मेलनका प्रमुख प्राथमिकतामा रहनेछन्।
आयोजकका अनुसार प्रदर्शनीमार्फत महिला उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित व्यावसायिक साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछन्। सम्मेलनमा व्यवसायदेखि व्यवसाय र व्यवसायदेखि ग्राहकसम्मको नेटवर्किङलाई विशेष प्राथमिकता दिइनेछ। यसबाट महिला उद्यमीलाई नयाँ ग्राहक, साझेदार, लगानीकर्ता र फराकिलो बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एकदिने सम्मेलनमा महिला उद्यमशीलताका विद्यमान चुनौती, सम्भावना र अवसरबारे बहुआयामिक छलफल गरिनेछ। व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वको सहभागितामा तीनवटा विषयगत प्यानल छलफल आयोजना गरिने भएको छ।
त्यसैगरी, ‘मेरो उद्यमशील यात्रा’ शीर्षकमा विशेष स्टोरीटेलिङ सत्र पनि सञ्चालन हुनेछ। यसमा सफल महिला उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता र सिकाइ प्रत्यक्ष रूपमा साझा गर्नेछन्। आयोजकले यो सत्रले नयाँ पुस्ताका महिला तथा उद्यमशीलताको क्षेत्रमा प्रवेश गर्न चाहनेलाई प्रेरणा र व्यावहारिक मार्गदर्शन प्रदान गर्ने विश्वास लिएको छ।
सम्मेलनस्थलमा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्रसमेत सञ्चालन गरिनेछ। उक्त केन्द्रमार्फत व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका लागि आवश्यक जानकारी उपलब्ध गराइने जनाइएको छ।
नेपाल महिला संघसँगको सहकार्यमा आयोजना हुने सम्मेलन पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ। सम्मेलन तथा प्रदर्शनीको १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
सम्मेलनको समापनमा महिला उद्यमशीलतासम्बन्धी प्रमुख सुझाव, प्रतिबद्धता तथा आगामी कार्यदिशा समेटिएको घोषणापत्रसमेत सार्वजनिक गरिनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्