चितवन । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त भिडियो कसले र कसरी सार्वजनिक गर्यो भन्ने विषयमा अनुसन्धान सुरु भएको छ। प्रहरीकै उपस्थितिमा स्वास्थ्य परीक्षणका क्रममा खिचिएको भिडियो बाहिरिएपछि प्रहरीको अनुसन्धान प्रोटोकल र संवेदनशील सूचना सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको भिडियोमा हातमा हतकडी लगाइएका किशोरसँग प्रश्न सोधिएको देखिन्छ। उनको अघिपछि प्रहरी कर्मचारीसमेत उपस्थित छन्। भिडियोमा सोधिएका प्रश्न र किशोरले दिएका जवाफ जस्ताको तस्तै सार्वजनिक भएका छन्।
अपराध अनुसन्धानका क्रममा अभियोग लागेका व्यक्ति, विशेषगरी नाबालकको गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था र प्रहरीको आन्तरिक प्रोटोकल रहे पनि संवेदनशील भिडियो सार्वजनिक भएको हो।
अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा खिचिएको भिडियो
प्रारम्भिक जानकारीअनुसार उक्त भिडियो कुनै सञ्चारमाध्यमका पत्रकारले खिचेको होइन। पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका बेला चिकित्सकले किशोरसँग सोधपुछ गरिरहेका क्रममा भिडियो रेकर्ड भएको खुलेको छ।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार किशोरलाई पक्राउपछि मेडिकल परीक्षणका लागि लगिएको थियो। त्यस क्रममा प्रहरीका दुई ड्युटी अफिसरसमेत उपस्थित थिए।
उनका अनुसार चिकित्सकले स्वास्थ्य परीक्षणका क्रममा किशोरसँग विभिन्न प्रश्न सोधेका थिए र सोही क्रममा रेकर्ड भएको भिडियो पछि सामाजिक सञ्जालमा भाइरल भएको हो।
तर भिडियो कसले खिच्यो र कसले सामाजिक सञ्जालमा सार्वजनिक गर्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता : ‘यस्तो भिडियो सार्वजनिक गर्न मिल्दैन’
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले भिडियो सार्वजनिक हुनु प्रहरीको अनुसन्धान प्रोटोकलविपरीत भएको स्वीकार गरेका छन्।
उनका अनुसार संवेदनशील प्रकृतिका घटनाको अनुसन्धानका क्रममा संकलन गरिएका अडियो तथा भिडियो सामग्री प्रहरीले सार्वजनिक गर्दैन।
“यस्तो भिडियो सार्वजनिक गर्न मिल्दै मिल्दैन। यो हाम्रो प्रोटोकलको उल्लंघन हो,” काफ्लेले बताएका छन्।
प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान र गोपनीयताको विषयमा समेत निश्चित मापदण्ड अपनाउने गरेको उनले बताएका छन्।
प्रहरी मुख्यालय र मधेश प्रदेशबाट अनुसन्धान
प्रवक्ता काफ्लेका अनुसार आइतबार भिडियो सार्वजनिक भएको जानकारी पाएलगत्तै प्रहरी प्रधान कार्यालयले यस विषयमा चासो लिएको थियो।
मधेश प्रदेश प्रहरी प्रमुखमार्फत जिल्ला प्रहरीसँग घटनाबारे विवरण मागिएको छ। प्रहरी प्रधान कार्यालयले समेत भिडियो कसरी र कुन माध्यमबाट बाहिरियो भन्ने विषयमा छुट्टै रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ।
बारामा भएको जघन्य घटनाको अनुसन्धान एकातिर चलिरहँदा पक्राउ परेका नाबालकको भिडियो सार्वजनिक हुनु अर्को गम्भीर कानुनी र नैतिक प्रश्न बनेको छ।
अब अनुसन्धानको मुख्य प्रश्न भिडियो कहाँ र कसले रेकर्ड गर्यो, त्यसमा प्रहरी वा अन्य कुनै अधिकारीको संलग्नता थियो वा थिएन र संवेदनशील सामग्री सामाजिक सञ्जालसम्म कसरी पुग्यो भन्नेमा केन्द्रित भएको छ। प्रहरीले यस विषयमा छानबिनबाट तथ्य बाहिर आउने जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्