काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले देशमा पछिल्लो समय हिंसा, हत्या, बलात्कार र विभिन्न प्रकारका अराजक गतिविधि बढ्दै जाँदा सरकारको प्रभावकारिता र जनविश्वास कमजोर बन्दै गएको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले बारा र सप्तरीमा बालिकाको हत्यासँग सम्बन्धित पछिल्ला घटनाले नेपाली समाजको अवस्था र राज्यको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको बताए।
उनले यस्ता घटनालाई दुईवटा आपराधिक घटनामा मात्रै सीमित गरेर हेर्न नहुने धारणा राखे।
“यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीका दुईवटा घटनालाई मात्रै हेर्न मिल्दैन,” उनले भने, “हाम्रो सरकार बनेदेखि कप्तानगञ्जको घटना होस्, धार्मिक तथा सामाजिक सद्भावको विषय होस्, मिटरब्याज पीडित, लघुवित्त पीडित वा डाक्टरसँग सम्बन्धित आन्दोलनका विषय हुन्, दिनप्रतिदिन भइरहेका यस्ता घटनाले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गएको देखाउँछ।”
सांसद सिंहले देशमा अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार तथा विभिन्न आन्दोलनका कारण आमनागरिक निराश र आक्रोशित बन्दै गएको बताए।
उनका अनुसार समाजमा बेथिति बढ्दै जाँदा अपराध र अराजकता पनि विस्तार हुने खतरा रहन्छ।
“जब समाजमा बेथिति हुन्छ र राज्यप्रतिको विश्वास तथा भरोसा कमजोर हुन्छ, त्यही समाजमा अपराध बढ्दै जान्छ,” उनले भने, “यस विषयमा गम्भीर र व्यापक छलफल आवश्यक छ।”
सांसद सिंहले आफ्नो धारणा थप राख्न खोजे पनि निर्धारित समय सकिएपछि उनको माइक बन्द भएको थियो। त्यसपछि उनी आफ्नो आसनमा फर्किएका थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्