काठमाडौं । मलेसियामा नेपाली कामदार पठाउने सूचीमा परेका २५ म्यानपावर कम्पनीले आफ्नो नाम फिर्ता लिने भएका छन् ।
मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीका रूपमा सूचीकृत भएका नेपालका २५ वटा म्यानपावर कम्पनीले आफ्नो नाम फिर्ता लिने भएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलमा व्यवसायीहरूले (एफडब्लुसिएमएस) को सूचीबाट ती २५ म्यानपावरको नाम फिर्ता लिने बताएका हुन् ।
यसअघि मलेसियामा नेपालका २५० भन्दा बढी म्यानपावरले कामदार पठाउँदै आएका थिए । तर, मलेसिया सरकारले नेपालका २५ वटा म्यानपावरलाई मात्र कामदार पठाउन अनुमति दिएपछि सूचीमा परेका म्यानपावरहरूले नै त्यसको विरोध गर्दै आएका थिए ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले मन्त्रालयमा भएको छलफलमा सूचीमा परेका २५ म्यानपावरले आफ्नो नाम फिर्ता लिने प्रस्ताव राखेको जानकारी दिए । यसबारे अहिले मन्त्रालयमा छलफल जारी छ ।
यी हुन् मलेसियाले छनोट गरेका २५ म्यानपावर
मलेसिया सरकारले कामदार छनोटका लागि तोकेका २५ म्यानपावरमा इन्डो अरब म्यानपावर, संयोग ओभरसिज, ट्यालेन्ट ओभरसिज सर्भिसेस, वाइड स्पेस इन्टरनेसनल, खोजी रिक्रुटमेन्ट सर्भिसेस, एएनएस एसोसिएट्स र अल–हायात म्यानेजमेन्ट सिस्टम रहेका छन् ।
त्यस्तै, अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स, बिलिभेबल ओभरसिज, डी स्क्वायर्ड ग्रुप, डी.डी. ह्युमन रिसोर्स, पारामाउन्ट इम्प्लोयमेन्ट कन्सल्टेन्सी, फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि, लालधनुष इन्टरनेसनल सर्भिस प्रालि, नेपाल प्लेसमेन्ट एजेन्सी, द रिभर ओभरसिज प्रालि, एसिया लिङ्क सर्भिसेज, ट्रस्ट नेपाल ओभरसिज, एक्सेस पार्टनर्स, बीएम ओभरसिज, ह्वाइट हर्स इन्टरनेसनल, ट्रान्स एसिया इन्टिग्रेटेड सर्भिसेज, मोन्टेज ओभरसिज, नेपाल एचआर सोलुसन र स्काई पावर इन्टरनेसनल सर्भिस रहेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्