काठमाडौं । भारतको सहयोगमा ललितपुरमा कुमारी छेँ र नयाँ कुमारी निवासको निर्माण गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, सांसद जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब पाँच करोड रुपैयाँको लागतमा कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माण गरिएको हो । परियोजना नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले कार्यान्वयन गरेको हो भने डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेसनल ट्रस्ट फर आर्ट्स एन्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य खरेलले स्थानीय बासिन्दाको योगदानको प्रशंसा गर्दै जीवित सम्पदा स्थलहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । उनले सम्पदा पुनर्स्थापनामा भारत सरकारले गरेको सहयोगको समेत प्रशंसा गरे ।
नगरप्रमुख महर्जनले ललितपुर र अन्य जिल्लाहरूका सांस्कृतिक सम्पदा स्थलहरूको पुनर्निर्माण र पुनर्स्थापनामा भारत सरकारले पुर्याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे । उनले स्थानीय समुदायलाई समेत सहयोग र सहकार्यको लागि आभार प्रकट गरे ।
राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धको चर्चा गर्दै ऐतिहासिक सम्पदाको संरक्षणमा भारतको निरन्तर सहयोग रहने बताए । पुनर्निर्मित संरचनाहरू दुई देशबीचको साझा सम्पदा, मित्रता र सांस्कृतिक सम्बन्धका चिरस्थायी प्रतीक बनेको उनको भनाइ थियो ।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत नेपालका आठ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षणमा सहयोग गरेको छ । साथै, गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लाका ८५ शैक्षिक संस्था तथा ११ जिल्लाका १३३ स्वास्थ्य संस्थाको पुनर्निर्माणमा समेत सहयोग गरेको जनाएको छ ।
कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माणले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई पूरक पुर्याउनुका साथै नेपाल–भारतबीचको प्रगाढ र व्यापक विकास साझेदारीलाई प्रतिबिम्बित गरेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्