काठमाडौँ । टाटा मोटर्सले आफ्नो चर्चित ‘सिएरा’ मोडललाई नयाँ पुस्ताको इलेक्ट्रिक अवतारमा नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडर्स ले नाडा अटो शोमार्फत नयाँ प्रिमियम एसयूभी ‘सिएरा डट ईभी’ सार्वजनिक गरेको हो।
आधुनिक डिजाइन, डिजिटल प्रविधि, प्रिमियम इन्टेरियर र लामो दूरीसम्म यात्रा गर्न सक्ने क्षमतासहित सिएरा ईभी नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ। मध्यमदेखि प्रिमियम वर्गका इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गर्दै यो मोडल सार्वजनिक गरिएको हो।
७५ किलोवाट आवर ब्याट्री, ६६५ किमिसम्म रेन्ज
सिएरा ईभीमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री विकल्प उपलब्ध रहेको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ६६५ किलोमिटरसम्म रेन्ज प्रदान गर्न सक्छ।
यो एसयूभी रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुवै विकल्पमा उपलब्ध हुने बताइएको छ। गाडीको लम्बाइ ४३४० एमएम, चौडाइ १८४१ एमएम र उचाइ १७५० एमएम रहेको छ।
यसको ह्विलबेस २७३० एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र बुट स्पेस ६२२ लिटर रहेको कम्पनीले जनाएको छ।
ट्रिपल स्क्रिनदेखि ५४० डिग्री क्यामेरासम्म
सिएरा ईभीको केबिनलाई प्रविधिमैत्री र प्रिमियम बनाउन विभिन्न आधुनिक फिचर समावेश गरिएको छ। यसमा होराइजन भ्यू ट्रिपल स्क्रिन सेटअप, मल्टिकलर गाइडसहितको हाइपर हेडअप डिस्प्ले, ४–वे पावर को–ड्राइभर सिट र भेन्टिलेटेड सिट उपलब्ध छन्।
त्यस्तै, आयनाइजरसहितको क्याबिन स्टेरिलाइजेसन सिस्टम पनि यसमा समावेश गरिएको छ।
सुरक्षातर्फ सिएरा ईभीमा लेभल २ प्लस एडीएएस अन्तर्गत २३ वटा फिचर रहेको बताइएको छ। यसले अगाडिको सडक र सम्भावित जोखिमको पहिचान गरी चालकलाई विभिन्न अवस्थामा सहयोग गर्ने कम्पनीको दाबी छ।
पार्किङलाई सहज बनाउन अटो पार्क असिस्टका १५ वटा फिचर तथा ५४० डिग्री क्यामेरा प्रणाली पनि उपलब्ध छ। पारदर्शी मोडसहितको सराउन्ड भ्यू, अगाडि र पछाडिको टर्न क्यामेरालगायत फिचरले ड्राइभिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
‘गो एनीवेयर, डु एनीथिङ’ अवधारणामा
१९ इन्च एलोय ह्विलसहित आएको सिएरा ईभीलाई टाटा मोटर्सले ‘गो एनीवेयर, डु एनीथिङ’ अवधारणामा विकास गरेको जनाएको छ।
कम्पनीका अनुसार यो गाडी सहरी सडकको दैनिक यात्रादेखि लामो दूरी तथा चुनौतीपूर्ण सडकसम्म प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको हो। टाटाको परम्परागत एसयूभी पहिचानलाई आधुनिक इलेक्ट्रिक प्रविधि, डिजिटल फिचर र प्रिमियम सुविधासँग जोडेर सिएरा ईभी तयार गरिएको बताइएको छ।
नाडा अटो शोबाटै बुकिङ खुला
नाडा अटो शोदेखि नै सिएरा ईभीको बुकिङ खुला गरिएको छ। कम्पनीले भने यसको आधिकारिक मूल्य सार्वजनिक गरिसकेको छैन।
नाडा अटो शोमार्फत बुकिङ गर्ने ग्राहकलाई भने दसैँदेखि गाडीको डेलिभरी सुरु गर्ने योजना रहेको बताइएको छ। नयाँ सिएरा ईभी नेपाली इलेक्ट्रिक सवारी बजारमा टाटाको अर्को महत्त्वपूर्ण प्रिमियम एसयूभीका रूपमा प्रतिस्पर्धामा उत्रिने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्