काठमाडौं । रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीमा परेर घाइते भएका सात जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङ दोर्जे शेर्पाका अनुसार बाढी प्रभावित टिमुरे क्षेत्रबाट सात जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको हो। उनीहरूलाई थप उपचारका लागि अस्पताल लगिएको बताइएको छ।
बुधबार बिहान करिब ९ बजे तिब्बत क्षेत्रबाट आएको लेन्दे खोलाको आकस्मिक बाढीले रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। बाढीको तीव्र बहावले दुईवटा बजार क्षेत्र बगाएको बताइएको छ भने ठूलो संख्यामा मानिस बेपत्ता भएको आशंका गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य उद्धार निकाय परिचालित भएका छन्। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
स्थानीयवासीका अनुसार लेन्दे खोलामा एक्कासि आएको विशाल बाढीले बजार, सडक, पुल तथा विभिन्न संरचनामा क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा क्षतिको पूर्ण विवरण संकलन गर्ने तथा थप घाइते र बेपत्ता व्यक्तिको खोजी गर्ने काम जारी रहेको अधिकारीहरूले जनाएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्