काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोसी नदीमा आएको भीषण बाढीपछि जोखिमपूर्ण नदी तटीय क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै त्रिशूली नदी तथा यससँग जोडिएका तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि तत्काल पूर्वतयारी र उद्धारका काम तीव्र बनाउन आग्रह गरेका हुन्।
रास्वपाले बाढी पूर्वानुमान शाखाबाट प्राप्त प्राविधिक सुझाव र चेतावनीलाई तत्काल कार्यान्वयन गर्न तथा विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्न सरकारसँग माग गरेको छ।
“त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्रहरू यतिबेला उच्च जोखिममा रहेकाले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न हामी सरकार, स्थानीय प्रशासन र आम नागरिकमा विशेष आह्वान गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ।
स्थानीय प्रशासनसँग समन्वय गर्न पार्टी पंक्तिलाई निर्देशन
रास्वपाले जोखिममा रहेका नागरिकको सुरक्षित उद्धार, स्थानान्तरण तथा पूर्वतयारीका काममा स्थानीय प्रशासनसँग समन्वय गर्न पार्टीका नेता, कार्यकर्ता र सदस्यलाई समेत निर्देशन दिएको छ।
महामन्त्री आचार्यले नदी आसपासका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। उनले विपद् व्यवस्थापनको सम्पूर्ण संयन्त्र प्रभावकारी रूपमा परिचालन गरी सम्भावित क्षति न्यूनीकरण गर्न सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिकबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।
रसुवाबाट आएको भीषण बाढीपछि त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न जिल्लामा सतर्कता बढाइएको छ भने जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य अघि बढाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्