काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढी धादिङको गल्छी क्षेत्रमा प्रवेश गरेसँगै क्षति बढ्न थालेको छ। बाढीले गल्छी क्षेत्रमा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदीको सतह निरन्तर बढिरहेकाले आसपासका बस्ती र सडक क्षेत्रमा जोखिम थपिएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार हालसम्म जिल्लामा ठूलो मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। तर बाढीको तीव्र बहावका कारण भौतिक संरचनामा क्षति पुग्न थालेपछि प्रशासनले जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाएको छ।
बाढीको जोखिम बढेसँगै खोला तथा नदी किनारमा रहेका जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम सुरु गरिएको छ। विशेषगरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीका नागरिकलाई सतर्क रहन र आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ।
पृथ्वी राजमार्गमा सवारी आवागमन रोकियो
बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा सवारी आवागमनसमेत प्रभावित भएको छ। काठमाडौंबाट बाहिरिएका सवारीसाधनलाई गल्छी क्षेत्रमा रोकिएको छ भने बीच बाटोमा रहेका गाडीलाई जोखिमयुक्त स्थानबाट हटाएर अग्लो तथा सुरक्षित स्थानमा राखिएको प्रशासनले जनाएको छ।
झोलुङ्गे पुल बग्नुका साथै त्रिशूली नदीको सतह बढिरहेकाले प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायलाई आवश्यक उद्धार र सुरक्षा तयारीमा राखिएको छ।
प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक रूपमा नदी किनारमा नजान, आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्न तथा जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्