काठमाडौं । रसुवा र धादिङमा भोटेकोसी नदीमा आएको बाढीपछि अहिलेसम्म सात जनाको शव फेला परेको छ ।
बुधबार भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
वाग्मती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवामा चार जना र धादिङमा तीन जनाको शव फेला परेको हो । फेला परेका शवको हालसम्म सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार शवको पहिचान तथा थप विवरण संकलन गर्ने काम भइरहेको छ ।
खोज तथा उद्धार जारी
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको डीआईजी रेग्मीले जानकारी दिए ।
प्रहरीले थप शव फेला पर्न सक्ने भएकाले खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्