काठमाडौं । बुधबार रसुवामा आएको भीषण बाढीले जलविद्युत् आयोजना तथा विद्युत् प्रसारण संरचनामा ठूलो क्षति पुर्याएपछि सो क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
बाढीबाट रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–३ ‘ए’ तथा त्रिशूली–३ ‘बी’ हब सबस्टेसन, देवीघाट जलविद्युत् केन्द्रलगायतका महत्वपूर्ण ऊर्जा संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको हो ।
बाढीले जलविद्युत् आयोजनाका संरचनाका साथै घर, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ ।
विद्युत् आपूर्ति नियमित गर्ने प्रयास
नेपाल विद्युत् प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गर्दै विद्युत् आपूर्ति यथासम्भव चाँडो नियमित गर्न आवश्यक काम भइरहेको जनाएको छ ।
आपूर्ति सहज नहुँदासम्म धैर्य गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।
बाढीको जोखिम अझै कायम रहेकाले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा रहेका प्राधिकरणका कर्मचारी र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा सर्नसमेत अपिल गरिएको छ ।
उद्धार तथा राहतमा सहयोग गर्न आग्रह
प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षलाई तत्काल परिचालन हुन आग्रह गरेको छ ।
प्रभावित क्षेत्रमा विद्युत् संरचनाको क्षति मूल्यांकन तथा मर्मतका लागि प्राविधिक टोली परिचालन गर्ने तयारीसमेत भइरहेको प्राधिकरणले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्