काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका तीन महिनाको शिशुसहित १४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।
बुधबार बिहान भोटेकोसी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ । हालसम्म सात जनाको शव फेला परेको र घाइते तथा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
उद्धार गरिएका १४ जनालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसायाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये एक जना बालकको अवस्था गम्भीर रहेको छ । उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यस्तै, थप तीन जना घाइतेलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार तीनै जना नुवाकोटका हुन् ।
ट्रमा सेन्टरमा उपचाररत घाइतेमध्ये दुई जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरूको पेट, हात तथा कम्मरमा चोट लागेको छ । तीनै जनालाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
हेलिकप्टरबाट उद्धार जारी
बाढी प्रभावित क्षेत्रमा घाइते तथा जोखिममा परेका नागरिकको खोजी र उद्धारलाई तीव्रता दिइएको छ । प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार गर्ने क्रम जारी रहेको छ ।
सरकारले बाढी प्रभावित घाइतेको निःशुल्क उपचार गर्ने निर्णयसमेत गरिसकेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्