काठमाडौं । सशस्त्र प्रहरी बलले रसुवाको बाढी प्रभावित क्षेत्रमा पुरिएका तथा हराइरहेका व्यक्तिको खोजीका लागि ‘स्निफर डग’ सहितको खोजी तथा उद्धार टोली परिचालन गरेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार रसुवागढी भन्सार यार्डलगायत बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजी गर्न तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको हो ।
भोटेकोसीमा बुधबार बिहान आएको अचानक बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्याएको छ । बाढी प्रभावित नदी किनार तथा आसपासका क्षेत्रमा थुनिएका र हराइरहेका नागरिकको खोजी गर्न ड्रोनसमेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उद्धार तथा उपचार तीव्र
बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने कार्य तीव्र पारिएको छ । बाढीमा परेका गम्भीर घाइतेलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउनुका साथै आपत्कालीन सडक उद्धारका लागि ‘मास क्याजुअल्टी भेहिकल’ सहितको चिकित्सा तथा उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
बाढी प्रभावितको उपचारका लागि सशस्त्र प्रहरी बलको अस्पतालमा आवश्यक बेड खाली गरी तयारी अवस्थामा राखिएको छ ।
यसैगरी, रसुवाभन्दा तलका नुवाकोट, धादिङ र चितवन क्षेत्रमा रहेका सशस्त्र प्रहरीका युनिटलाई विपद् उद्धारका लागि उच्च सतर्क अवस्थामा राखिएको छ ।
जोखिमयुक्त बस्तीमा माइकिङ
नदी किनारका जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीका गाडी तथा गस्ती टोलीमार्फत साइरन बजाउने र माइकिङ गर्ने काम भइरहेको छ । जोखिममा रहेका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न सूचना प्रवाह गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नुवाकोटको विदुरमा अस्थायी स्वास्थ्य शिविर स्थापना गरी सेवा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ ।
राहत सामग्रीसहित डीआरएस परिचालन
सशस्त्र प्रहरीका विभिन्न युनिटमा तयारी अवस्थामा राखिएका आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका ‘डिजास्टर रिलिफ सिस्टम’ (डीआरएस) कन्टेनर आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको छ ।
देशका अन्य भागमा रहेका डीआरएस कन्टेनरसमेत प्रभावित क्षेत्रमा केन्द्रित गरी परिचालन गर्न थालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी, नदी किनारका जोखिमयुक्त बस्ती, मुख्य सडक तथा करिडोरमा खसेका पहिरो हटाएर उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने कामलाई पनि तीव्रता दिइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्