काठमाडौं । तिब्बत क्षेत्रमा रहेको हिमताल फुटेका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा भोटेकोसी हुँदै बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी शाखाले सूचना जारी गर्दै नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खाली नभएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
चीनबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्राप्त सूचनाका आधारमा हिमताल फुटेको प्रारम्भिक अनुमान गरिएको बाढी शाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले जानकारी दिए ।
उनका अनुसार तालमा रहेको सबै पानी बाहिरिन बाँकी रहेकाले थप बाढी आउन सक्ने जोखिम कायमै छ । घटनास्थलको अवस्थाबारे थप यकिन गर्न स्याटलाइट विवरणसमेत विश्लेषण भइरहेको उनले बताए ।
दोस्रो लहरको जोखिम
बाढी शाखाले सम्भावित दोस्रो लहरको बाढीबारे सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पठाएको जनाएको छ ।
जोशीका अनुसार, ‘दोस्रो वेभ’ आउन सक्ने चेतावनीसहित एसएमएस पठाइएको छ भने स्याटलाइट डाटा प्रोसेसिङको काम पनि भइरहेको छ ।
ताल पूर्ण रूपमा खाली नभइसकेकाले भोटेकोसी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रका नागरिकलाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीलाई समेत उच्च सतर्क अवस्थामा रहन भनिएको छ । विभागले अवस्थाबारे थप जानकारी प्राप्त भएपछि आवश्यक पूर्वसूचना तथा अपडेट जारी गर्ने जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्