काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी खोलामा आएको विनाशकारी बाढीपछि ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये ६२ जना नेपाली र ३४१ जना विदेशी पर्यटक रहेका छन्।
नेपाल पर्यटन बोर्डले बिहीबार बिहान सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार विभिन्न ट्रेकिङ कम्पनीमार्फत गोसाइँकुण्ड तथा कैलाश मानसरोवर यात्रामा गएका पर्यटकहरूसँग सम्पर्क स्थापित हुन सकेको छैन।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २०३ जना पुरुष र २०० जना महिलारहेका छन्। उनीहरूको अवस्थाबारे यकिन विवरण प्राप्त गर्न ट्रेकिङ कम्पनी, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।
सबैभन्दा धेरै भारतीय पर्यटक सम्पर्कविहीन
सम्पर्कविहीन विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। पर्यटन बोर्डले उपलब्ध गराएको विवरणअनुसार भारतका १३३ जना पर्यटक सम्पर्कविहीन छन्।
त्यसैगरी अमेरिकाका ४७, अष्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटकसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन।
युक्रेनका ७ जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका ६–६ जना तथा न्युजिल्यान्ड र जापानका ५–५ जना पर्यटक पनि सम्पर्कविहीनको सूचीमा छन्।
पर्यटन बोर्डका अनुसार जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्यान्ड, नेदरल्यान्ड्सलगायत २५ भन्दा बढी देशका नागरिकहरू समेत बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका छन्।
टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा व्यापक क्षति
भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। बस्ती, प्रहरीचौकी तथा भन्सार कार्यालयसमेत प्रभावित भएका छन्।
बाढीले रसुवागढी नाका जोड्ने सडक तथा पुलहरूमा समेत क्षति पुर्याउँदा उद्धार र खोजी अभियान थप चुनौतीपूर्ण बनेको छ। सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएका कारण विभिन्न स्थानमा रहेका पर्यटकको वास्तविक अवस्थाबारे जानकारी संकलन गर्न कठिनाइ भइरहेको जनाइएको छ।
ट्रेकिङ कम्पनीमार्फत विवरण संकलन हुँदै
नेपाल पर्यटन बोर्डले सम्पर्कविहीन पर्यटकको खोजीका लागि सम्बन्धित ट्रेकिङ कम्पनीहरूबाट यात्रुहरूको विवरण संकलन गरिरहेको जनाएको छ। सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी उनीहरू कहाँ पुगेका थिए र बाढीको समयमा कुन क्षेत्रमा थिए भन्नेबारे जानकारी जुटाउने प्रयास भइरहेको छ।
बोर्डले सम्पर्कविहीन भएको विवरणलाई खोजी तथा सम्पर्क स्थापित गर्ने प्रक्रियामा रहेको प्रारम्भिक सूचीका रूपमा लिइएको जनाएको छ। सम्पर्क स्थापित हुँदै जाँदा संख्या परिवर्तन हुन सक्ने देखिन्छ।
पर्यटन बोर्डको सम्पर्क नम्बर
बाढी प्रभावित पर्यटक वा उनीहरूका परिवारजनसँग कुनै जानकारी भएमा नेपाल पर्यटन बोर्डले निम्न नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ–
- टोल फ्री नम्बर: १२३४
- हटलाइन नम्बर: ११४४
- पर्यटन प्रहरी: ९८५१२८९४४५
भोटेकोशीको विनाशकारी बाढीपछि नागरिकसँगै ठूलो संख्यामा विदेशी पर्यटक पनि सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएपछि खोजी तथा उद्धार अभियानको चुनौती थपिएको छ। विशेषगरी गोसाइँकुण्ड र रसुवागढी आसपासका पदमार्ग तथा सडक सम्पर्क अवरुद्ध भएकाले स्थल र हवाई उद्धारलाई समन्वयात्मक रूपमा अघि बढाउनु अहिलेको प्रमुख आवश्यकता बनेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्