काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी घाइते भई काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत नागरिकलाई भेटेका छन्।
आङ्देम्बे बुधबार राति त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर बाढीपीडित घाइतेहरूको स्वास्थ्य अवस्था, उपचारको प्रगति तथा अस्पतालबाट उपलब्ध गराइँदै आएको सेवाबारे जानकारी लिएका हुन्।
घाइतेहरूसँग भेटघाटका क्रममा उनले विपद्को समयमा उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्। बाढीबाट घाइते भएका नागरिकको जीवनरक्षा र प्रभावकारी उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।
‘उपचारमा कुनै कमी हुनु हुँदैन’
आङ्देम्बेले घाइतेका लागि आवश्यक औषधि, स्वास्थ्य सेवा तथा अन्य व्यवस्थापनमा कुनै समस्या देखिए तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
“विपद्को यो समयमा घाइतेहरूको उपचारमा कुनै कमी हुनु हुँदैन। राज्यले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर नागरिकको जीवनरक्षा र उपचारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भने।
विपद्का कारण घाइते भएका नागरिकप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्दै आवश्यक सबै सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो। उनले उपचाररत सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
उद्धार, राहत र उपचारमा सहयोग गर्न कांग्रेस तयार
आङ्देम्बेले भोटेकोसी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा नेपाली कांग्रेस रहेको बताएका छन्।
उनले उद्धार, राहत तथा घाइतेको उपचारका लागि सरकारलाई आवश्यक सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको उल्लेख गरे। विपद्को प्रभावकारी व्यवस्थापनका लागि राजनीतिक दल, सरकार, सुरक्षा निकाय तथा नागरिक समाजबीच बलियो र प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्