हेटौँडा । मकवानपुरका स्थानीयवासीले रसुवा तथा आसपासका बाढी प्रभावित क्षेत्रमा गएका आफ्ना ४० जना आफन्तको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरसँग आग्रह गरेका छन्।
जिल्लाका विभिन्न स्थानबाट गोसाइँकुण्डलगायत क्षेत्रमा दर्शन, भ्रमण, सवारीसाधन सञ्चालन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा पुगेका व्यक्तिसँग सम्पर्क हुन नसकेपछि परिवारजनले प्रशासनको सहयोग माग गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार स्थायी रूपमा मकवानपुरमा बसोबास गर्ने ४० जना व्यक्तिको अवस्था अज्ञात रहेको भन्दै आफन्तहरूले प्रशासनमा जानकारी गराएका छन्।
उनले भने, “गोसाइँकुण्डलगायत क्षेत्रमा दर्शन गर्न, घुम्न, सवारीसाधन चलाउन तथा अन्य विभिन्न पेसामा गएका ४० जना व्यक्तिसँग सम्पर्क हुन नसकेको भन्दै उनीहरूका आफन्तले प्रशासनमा बुझिदिन आग्रह गर्नुभएको छ।”
प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले सम्पर्कविहीन भनिएका सबै व्यक्ति अनिवार्य रूपमा जोखिममा नै छन् भन्ने अवस्था नरहेको पनि बताए। सञ्चार सेवा अवरुद्ध भएका कारण कतिपय व्यक्तिको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको हुन सक्ने उनको भनाइ छ।
सम्बन्धित निकायसँग समन्वय
जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीसँग समन्वय सुरु गरेको जनाएको छ।
अधिकारीले भने, “हामीले प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग बुझ्ने प्रयास गरिरहेका छौँ। सञ्चार सम्पर्क सहज नभएकाले तत्काल सबैको अवस्थाबारे जानकारी आउन नसकेको हुन सक्छ।”
रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि सडक र सञ्चार सम्पर्क प्रभावित हुँदा विभिन्न जिल्लाबाट पुगेका मानिसहरूको अवस्थाबारे परिवारजन चिन्तित बनेका छन्। प्रशासनले सम्पर्कविहीन व्यक्तिको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्