काठमाडौँ । बुधबार नेपालको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि २८८ जना भारतीय नागरिक सम्पर्कविहीन रहेको भारतले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कैलाश मानसरोवर यात्राका क्रममा बाढी प्रभावित क्षेत्रमा फसेका २१ जना भारतीय नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको जानकारी दिए। उनका अनुसार अझै २८८ जना भारतीय नागरिकसँग सम्पर्क स्थापित हुन सकेको छैन।
सम्पर्कविहीनमध्ये ७३ जना ‘त्रिशूली–१’ जलविद्युत् आयोजनामा कार्यरत रहेको जयसवालले बताए। त्यस्तै, कैलाश मानसरोवर यात्रामा रहेका तमिलनाडुका दुई समूह पनि सम्पर्कविहीन छन्। पहिलो समूहमा ३७ जना र दोस्रो समूहमा ४९ जना भारतीय नागरिक रहेको बताइएको छ।
यसैगरी, पश्चिम बंगालका ३२ जना भारतीय नागरिक बाढीका समयमा रसुवाको टिमुरे क्षेत्रमा रहेको र उनीहरूसँग पनि हालसम्म सम्पर्क हुन नसकेको जनाइएको छ।
केरलाका ३३ जनासहित विभिन्न भारतीय राज्यका थप ६१ जना नागरिक पनि सम्पर्कबाहिर रहेको प्रवक्ता जयसवालले बताए।
चीनतर्फ पनि भारतीय नागरिक फसे
प्रवक्ता जयसवालका अनुसार बाढीका कारण चीनतर्फ करिब २०० जना भारतीय नागरिक पनि फसेका छन्। बाढीबाट सञ्चार तथा आवतजावतमा समस्या भएपछि उनीहरूसँग प्रत्यक्ष सम्पर्क गर्न कठिनाइ भइरहेको उनले बताए।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्