नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारमा हालसम्म २६ जनाको शव फेला परेको छ। फेला परेकामध्ये १५ पुरुष, आठ महिला र तीन जना बालबालिका रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार नदी नियन्त्रणका लागि निर्माण गरिएका एकदेखि १४ नम्बर ठोक्करसम्म विभिन्न स्थानमा शव फेला परिरहेका छन्।
नारायणी नदी किनारको ठोक्कर नम्बर ५ मा भने शवको एउटा खुट्टा मात्र फेला परेको प्रहरीले जनाएको छ।
शव खोजी तथा उद्धारका लागि बिहीबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली परिचालन भएका छन्। नदी किनार तथा आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
फेला परेका शवको आवश्यक मुचुल्का तयार गरी परीक्षण तथा पहिचानका लागि पृथ्वीचन्द्र अस्पताल, परासी पठाइएको छ। शव फेला पर्ने क्रम जारी रहेकाले सुरक्षा निकाय र स्थानीयवासीले नदी किनारका विभिन्न क्षेत्रमा खोजी कार्य तीव्र बनाएका छन्।
भारततर्फ पनि निगरानी
नदीको बहावसँगै शव भारततर्फ समेत बगेर जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै सीमापार सुरक्षा निकायसँग समन्वय गरी निगरानी बढाइएको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भारतको सीमावर्ती क्षेत्रमा समेत केही शव फेला परेको जानकारी प्राप्त भएको बताए। ती शवसम्बन्धी विस्तृत विवरण बुझ्ने तथा सम्बन्धित भारतीय निकायसँग समन्वय गर्ने काम भइरहेको उनले जानकारी दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्