काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला उपविदेश सचिव एलिसन हुकरबीच बिहीबार टेलिफोन वार्ता भएको छ।
परराष्ट्रमन्त्री खनालको सचिवालयका अनुसार वार्ताका क्रममा हुकरले बुधबार रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट दुःख व्यक्त गरिन्।
रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएका बेला भएको वार्तामा हुकरले विपद्को कठिन समयमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले नेपाल र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धतासमेत व्यक्त गरिन्।
हुकरले बाढी प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको प्रयासबारे जानकारी लिँदै बेपत्ता अमेरिकी नागरिकको खोजी तथा उद्धारको अवस्थाबारे पनि चासो व्यक्त गरिन्।
जवाफमा परराष्ट्रमन्त्री खनालले सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए।
अमेरिकी सहयोगप्रति धन्यवाद
मन्त्री खनालले विपद्को कठिन समयमा सहयोगका लागि अमेरिकी सरकारको तत्परताप्रति धन्यवाद व्यक्त गरे। उनले बाढीबाट प्रभावित सबै नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकार प्रतिबद्ध रहेको बताए।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्