देवीघाट (नुवाकोट) । “हामी जीवित छौँ, यही नै हाम्रा लागि ठूलो सौभाग्य हो,” रसुवाको टिमुरेबाट उद्धार गरी नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र, मैथली ब्यारेकमा ल्याइएकी अमेरिकी नागरिक अञ्जना राजाले भोटेकोशीमा आएको विनाशकारी बाढीको कहालीलाग्दो अनुभव सुनाउँदै भन्नुभयो।
कैलाश मानसरोवर यात्राका लागि टिमुरे पुगेकी राजाले बुधबार बिहानको घटना सम्झँदै भन्नुभयो, “हामीले टिमुरे बजारमा खाना खाने योजना बनाएका थियौँ। त्यही बेला नदीमा चार तलामाथिसम्म उर्लिएको बाढी देखियो। चालकले बाढी देख्नासाथ दौडन थालेपछि हामी पनि माथिल्लो क्षेत्रमा भाग्यौँ र ज्यान जोगाउन सफल भयौँ।”
अञ्जना राजासहित करिब एक सय विदेशी नागरिकलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी बिहीबार बेलुकीसम्म मैथली ब्यारेक पुर्याएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट एक हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

उद्धार गरिएकाहरूलाई मैथली ब्यारेकमा चिकित्सकको निगरानीमा राखेर आवश्यक उपचार तथा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। चिकित्सकीय उपचार वा विशेष निगरानी आवश्यक नभएका व्यक्तिहरूलाई भने स्वेच्छाले आफन्त तथा परिवारको जिम्मा लगाइएको छ।
भोटेकोशी बाढीपछि नुवाकोटको बट्टारस्थित मैथली ब्यारेक प्रभावित नागरिकको उद्धार तथा व्यवस्थापनको प्रमुख केन्द्र बनेको छ। नुवाकोटकै देवीघाट, त्रिशूली बजार, ढुङ्गे तथा बेत्रावतीलगायत क्षेत्रबाट उद्धार गरिएकाहरूलाई मैथली ब्यारेक तथा जिल्ला आयुर्वेद अस्पताल, देवीघाटमा राखिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार नेपाल सरकारका विभिन्न निकायसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा तीव्र रूपमा उद्धार अभियान सञ्चालन भइरहेको छ। सुरक्षा निकायको संयुक्त परिचालनका कारण बाढीमा फसेका ठूलो सङ्ख्याका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन सम्भव भएको उहाँले बताउनुभयो।
यद्यपि, उद्धार अभियान अझै जारी छ। हाइड्रोपावरको सुरुङभित्र फसेका करिब एक सय जनाभन्दा बढी व्यक्तिलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको जनाइएको छ। बिहीबार साँझसम्म सुरुङमा फसेका मजदुर तथा स्थानीय बासिन्दासहित करिब ३५० जनाको उद्धार गरिएको थियो।

उता, विदुर नगरपालिका–५, देवीघाट क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ। प्रहरी एकाइ देवीघाटका प्रहरी सहायक निरीक्षक अरुणकुमार बैठाका अनुसार त्रिशूली नदी आसपासका करिब दुई सय घर बाढीको चपेटामा परेका छन्। बाढी बस्तीमा प्रवेश गर्नुअघि खाली गराइएका करिब १५० जनालाई जिल्ला आयुर्वेद अस्पतालमा अस्थायी रूपमा राखिएको छ।
प्रहरी, स्थानीय सामाजिक संस्था, रेडक्रस तथा स्वयंसेवकहरूको सहयोगमा प्रभावित नागरिकका लागि खानपान र बसोबासको व्यवस्था मिलाइएको छ। लामीबगैँचा सामाजिक युवा क्लबका अध्यक्ष सुजन गजुरेलका अनुसार प्रभावित परिवारलाई खाद्यान्न, हाइजिन किट, चाउचाउ, बिस्कुट, चामल तथा अन्य आवश्यक सामग्री राहतका रूपमा वितरण गरिएको छ।
देवीघाटमा घर बगाएपछि जिल्ला आयुर्वेद अस्पतालमा आश्रय लिइरहेकी बिनिता चित्रकार तत्कालका लागि उपलब्ध गराइएको खानपान र बसोबासको व्यवस्थाप्रति सन्तुष्ट देखिनुहुन्छ। तर, उहाँलाई अबको भविष्यले चिन्तित बनाएको छ। “अहिले त ज्यान जोगियो, बस्ने ठाउँ र खाना पनि पाइरहेका छौँ,” उहाँको भावनामा भविष्यको अन्योल झल्किन्छ, “तर अब घर कहाँ बनाउने, कसरी फेरि जीवन सुरु गर्ने भन्ने चिन्ता छ।”

मैथली ब्यारेकमा आश्रय लिइरहेका पेमा थुम्बेले पनि आफूले बाँच्ने आशा लगभग त्यागिसकेको अवस्थामा नेपाली सेनाले उद्धार गरेको बताउनुभयो। बिहीबार बिहान सुरक्षित स्थानमा ल्याइएपछि उहाँले उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्नुभयो।
भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका कैयौँ बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। कतिपय नागरिक अझै सम्पर्कविहीन छन् भने प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर जारी छ। ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेकाहरूका लागि तत्कालको उद्धार सम्पन्न भए पनि घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका हजारौँ परिवारका लागि पुनःस्थापनाको चुनौती भने अब सुरु भएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्