बागलुङ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन भएका छन्। बाढीमा फसेका केही नागरिक सम्पर्कमा आए पनि अझै केहीको अवस्था अज्ञात रहेको छ। बेपत्ताको खोजीका लागि प्रहरी र स्थानीय प्रशासनले प्रयास जारी राखेका छन्।
जैमिनी नगरपालिका–८, छिस्तीका प्रहरी सहायक हवल्दार तारा केसीले सामाजिक सञ्जालमार्फत आफू सुरक्षित रहेको जानकारी दिएका छन्। उनका दाजु झकबहादुरका अनुसार तारा रसुवा जिल्ला प्रहरी कार्यालयमा सुरक्षित छन्। उनीसँग हालै परिवारको कुराकानीसमेत भएको छ।
त्यस्तै, गलकोट नगरपालिका–६, जंगराका २३ वर्षीय भूपेन्द्र रोकामगर पनि बाढीका बेला रसुवामा फसेका थिए। वैशाखमा साथीहरूसँग रसुवा पुगेका उनी हाइड्रोपावर कम्पनीमा काम गर्दै आएका थिए। बाढीपछि उनले आमालाई फोन गरेर आफू प्रहरीको सम्पर्कमा रहेको जानकारी दिएका थिए।
‘आमा, म प्रहरीसित छु, मसँग केही छैन,’ भूपेन्द्रले आमालाई भनेका थिए। त्यसपछि परिवारसँग सम्पर्क भए पनि अहिले उनको मोबाइल बन्द रहेको छ।
गलकोट–६ का वडाध्यक्ष रामप्रसाद कँडेलले बाढीपछि भूपेन्द्रसँग पुनः सम्पर्क हुन नसकेको बताए। परिवार र प्रहरीसँग समन्वय गरेर उनको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको उनले बताए। गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीका अनुसार वडा नं. २ का रमेश सुनार पनि सम्पर्कविहीन छन्।
तमानखोलाका नौ जना सम्पर्कविहीन
रसुवाको स्याफ्रुबेँसीस्थित बुद्ध गेस्ट हाउसमा काम गर्ने ढोरपाटन नगरपालिका–९, मर्माका २० वर्षीय तुलबहादुर सुनार पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। दसैँमा घर फर्किने योजनामा रहेका तुलबहादुरसँग बाढीअघि परिवारको कुराकानी भएको थियो।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाका अनुसार बिहीबारसम्म पालिकाका नौ जना नागरिक रसुवामा सम्पर्कविहीन छन्।
अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत पदमबहादुर घर्तीमगर, इन्द्रकुमार विक, भीमबहादुर छन्त्याल, सञ्जय श्रीपाली, विष्णु घर्तीमगर, खडक छन्त्याल, दलप्रसाद बुढा, लाता कामी र भीमबहादुर बिक सम्पर्कविहीन रहेको अध्यक्ष बुढाले बताए।
कामको खोजीमा पालिकाबाहिर गएका नागरिकको विवरण अझै संकलन भइरहेकाले सम्पर्कविहीनको संख्या थप बढ्न सक्ने उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाभरबाट रसुवामा पुगेका तथा बाढीपछि सम्पर्कविहीन भएका नागरिकको विवरण संकलन गरिरहेको जनाएको छ।
परिवारमा बढ्दो चिन्ता
बाढीपछि आफन्तसँग सम्पर्क हुन नसक्दा परिवारमा चिन्ता बढेको छ। उनीहरूले प्रहरी तथा स्थानीय प्रशासनसँग बेपत्ता आफन्तको खोजी तीव्र बनाउन आग्रह गरेका छन्।
प्रहरी र स्थानीय प्रशासनले विभिन्न माध्यमबाट सम्पर्क स्थापित गर्ने तथा उद्धार भएका व्यक्तिको विवरण संकलन गर्ने काम जारी राखेका छन्। सम्पर्कविहीन व्यक्तिको यकिन अवस्था पत्ता लगाउन सुरक्षा निकायसँग समन्वय भइरहेको जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्