काठमाडौँ । रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित जिल्लामा पशुपन्छीको उद्धार तथा उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले २४ घण्टे हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।
एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार बाढी प्रभावित पशुपालक कृषकले निःशुल्क हटलाइन नम्बर ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार तथा उद्धारसम्बन्धी प्राविधिक परामर्श लिन सक्नेछन्।
हटलाइनमा प्राप्त सूचनाका आधारमा फिल्डमा खटिएका पशु चिकित्सक तथा उद्धार टोलीसँग समन्वय गरी आवश्यकताअनुसार तत्काल टोली परिचालन गरिने एसोसिएसनले जनाएको छ।
एसोसिएसनले बिहीबारै डा. प्रवेश शर्मा, डा. निशान्त शर्मा गेलाल, डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल र डा. केशव खरेल सम्मिलित पशु चिकित्सक टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
रोग फैलिन नदिन निगरानी
बाढीपछि संक्रामक रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै एसोसिएसनले रोग निगरानी तथा रोकथामका लागि पशु सेवा विभागलगायत सरकारी निकायसँग समन्वय गरिरहेको जनाएको छ।
सम्पर्क तथा सहजीकरणका लागि एसोसिएसनले महासचिव डा. शंकर न्यौपानेको ९८४५४४०४०४ र केन्द्रीय सदस्य डा. दिनेश अर्यालको ९८४००१७०७६ नम्बर पनि सार्वजनिक गरेको छ।
एसोसिएसनका अनुसार परिचालित पशु चिकित्सक टोलीले प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारको काम गर्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्