काठमाडौं । देशभर आज नवयज्ञोपवीत अर्थात् नयाँ जनै धारण तथा रक्षाबन्धन गरेर जनैपूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरू नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा गई स्नान गर्ने र गुरु तथा पुरोहितबाट विधिपूर्वक मन्त्रिएको रक्षासूत्र धारण गर्ने परम्परा छ। तागाधारीहरूले मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गर्ने र पुरानो जनै फेर्ने गर्दछन्।
धार्मिक मान्यताअनुसार जप, तप तथा पूजा–अर्चनापछि मन्त्रिएको रक्षासूत्र वा डोरो धारण गर्दा नकारात्मक शक्ति तथा अशुभ प्रभावबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ। ब्राह्मण पुरोहितले वैदिक मन्त्र उच्चारण गर्दै यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँधिदिने प्रचलन छ।
आज जनै फेर्ने परम्परा
विधानशास्त्रअनुसार ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले जनैपूर्णिमाका दिन नयाँ यज्ञोपवीत धारण गर्नुपर्ने धार्मिक परम्परा छ।
यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि नै व्रत बस्ने, शुद्धता कायम गर्ने तथा धार्मिक विधिअनुसार कर्मकाण्ड गर्ने परम्परा रहेको छ।
पूर्णिमाको बिहान तागाधारीहरू नदी, पोखरी, ताल, तलाउ वा कुण्डमा स्नान गर्न जान्छन्। धार्मिक विधिअनुसार स्नानपछि जौ, तिल र कुशको प्रयोग गरी ऋषिहरूलाई तर्पण गरिन्छ। त्यसपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै धारण गरिन्छ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यलगायत ऋषिहरूको पूजा तथा तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणी समेत भनिन्छ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागोका रूपमा पनि लिइन्छ।
पशुपतिनाथदेखि विभिन्न मठमन्दिरमा भक्तजनको भीड
जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका मठमन्दिर, नदी किनार तथा धार्मिक स्थलमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ।
काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक तथा वाग्मती नदी किनारमा विशेष चहलपहल रहने गर्छ। नयाँ जनै फेर्न र रक्षासूत्र बाँध्न श्रद्धालुहरू बिहानैदेखि गुरु तथा पुरोहितकहाँ पुग्ने गर्दछन्।
क्वाँटी खाने विशेष परम्परा
जनैपूर्णिमाको अर्को महत्वपूर्ण सांस्कृतिक पक्ष क्वाँटी खाने परम्परा हो। विभिन्न प्रकारका गेडागुडी मिसाएर पानीमा भिजाई टुसा उमारेर तयार गरिने क्वाँटी आज विशेष रूपमा खाने गरिन्छ।
धार्मिक तथा परम्परागत मान्यताअनुसार क्वाँटीले वर्षायाममा शरीरमा सञ्चित चिसो हटाउन र शरीरलाई तागत दिन मद्दत गर्छ भन्ने विश्वास छ।
विभिन्न प्रकारका गेडागुडीबाट बन्ने भएकाले क्वाँटीलाई पौष्टिक आहारका रूपमा पनि लिइन्छ। आयुर्वेदिक मान्यताअनुसार यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
तराईमा राखी बाँध्ने परम्परा
जनैपूर्णिमाकै अवसरमा नेपालको तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने परम्परा पनि छ। यसलाई दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा लिइन्छ।
पहिले मुख्यतः तराई क्षेत्रमा प्रचलित यो परम्परा पछिल्ला वर्षहरूमा पहाडी तथा शहरी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।
गोसाइँकुण्डदेखि मणिचूडसम्म मेला
जनैपूर्णिमाका अवसरमा देशका विभिन्न धार्मिक तथा प्राकृतिक स्थलमा विशेष मेला लाग्ने गर्दछ।
काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधाम लगायतका धार्मिक स्थलमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्छ।
हिमाल, नदी, ताल, धार्मिक आस्था, ऋषि परम्परा र पारिवारिक सम्बन्धसँग जोडिएको जनैपूर्णिमा नेपाली समाजको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। नयाँ जनै धारण, रक्षासूत्र बाँध्ने, ऋषितर्पण गर्ने र परिवारसँग बसेर क्वाँटी खाने परम्पराले यस पर्वलाई धार्मिक मात्र नभई सामाजिक तथा सांस्कृतिक रूपमा पनि विशेष बनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्