काठमाडौँ । बुधबार आएको भीषण बाढीले १३ वटा पुल बगाएपछि रसुवा जिल्ला सडक सञ्जालबाट विच्छेद भएको छ। भोटेकोसी नदीमा आएको बाढीले जिल्लाका प्रमुख सडक तथा पुलमा क्षति पुर्याएपछि रसुवाको बाहिरी जिल्लासँगको सडक सम्पर्क टुटेको हो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार भोटेकोसी बाढीबाट देशभर कुल ४१ वटा पुलमा क्षति पुगेको छ। रसुवाको बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ। करिब ४० किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएपछि जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको मन्त्रालयले जनाएको छ।
सरकारले तत्काल पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र त्यसपछि रसुवालाई सडक सञ्जालसँग जोड्ने कामलाई प्राथमिकतामा राखेको छ। पृथ्वीराजमार्गको करिब १३ किलोमिटर सडकखण्ड लेदोले पुरिएको छ।
रसुवाका महत्वपूर्ण पुलमा क्षति
सडक विभागका अनुसार नेपाल–चीन सीमास्थित मितेरी पुलदेखि मुग्लिनको पुरानो सस्पेन्सन पुलसम्मका विभिन्न पुलमा बाढीले क्षति पुर्याएको छ। मितेरी पुल पूर्णरूपमा बगेको छ भने मुग्लिनको पुरानो सस्पेन्सन पुल सुरक्षित रहेको छ।
रसुवामा टिमुरेका दुईवटा बेलिब्रिज, भोटेकोसी पक्की पुल, चिलिमे पक्की पुल, स्याफ्रुबेँसीको हाइड्रोपावर बेलिब्रिज तथा सोही स्थानको पक्की पुल बाढीले बगाएको छ।
यस्तै, हाकु प्रथम र हाकु द्वितीय बेलिब्रिज, माथिल्लो त्रिशूली हाइड्रोमा बनेको बेलिब्रिज, मैलुङ बेलिब्रिज, त्रिशूली–३ ‘ए’ ड्याम नजिकका दुईवटा पक्की पुल तथा खाल्टेस्थित रसुवा–नुवाकोट सीमाको भोटेकोसी नदीमाथिको पुलमा क्षति पुगेको छ।
बेत्रावतीका पुराना तथा नयाँ दुवै पक्की पुलसमेत बाढीले बगाएको छ।
नुवाकोट र धादिङमा पनि पुल बगे
बाढीबाट नुवाकोटतर्फ पनि त्रिशूली–तुप्चेस्थित पक्की पुल, त्रिशूली बजारका पुराना तथा नयाँ दुवै पुल, सिमचौरस्थित त्रिशूली नदीको पक्की पुल, देवीघाटको झोलुङ्गे पुल, त्रिशूली नदीको पक्की पुल तथा तादी खोलाका पुराना र नयाँ दुवै पुलमा क्षति पुगेको छ।
धादिङको श्रीखाली, बुद्धसिंहघाट, रातमाटे र केउरेनीस्थित त्रिशूली नदीका पुल पनि बाढीले बगाएको छ। गल्छी नजिकको त्रिशूली नदीमाथिको पुल भने जोगिएको छ। बैरेनी–सल्यानटार सडकमा रहेको त्रिशूली नदीको पुल बगेको छ।
यस्तै, ह्यामलेट रिसोर्ट नजिकको पक्की पुल, जरे बगैँचास्थित पुल र घाटबेँसीस्थित त्रिशूली नदीको पुलमा क्षति पुगेको छ। कोल्पु खोलाका नयाँ तथा पुराना दुवै पुलमा क्षति पुगेको छ भने मलेखुको फुर्के खोला पुल पूर्णरूपमा बगेको छ।
बेनीघाटस्थित त्रिशूली नदीको पुल सुरक्षित रहेको छ भने फिस्लिङस्थित पुलमा बाढीले क्षति पुर्याएको छ।
चितवनको चुम्लिङटारस्थित बेलिब्रिज तथा मुग्लिनका नयाँ आर्क ब्रिज र पुरानो सस्पेन्सन ब्रिज भने सुरक्षित रहेका छन्।
बेलिब्रिजका लागि भारत र चीनसँग सहयोग माग
पूर्वाधार विकास मन्त्रालयका अनुसार नेपाल सरकारसँग अहिले सातवटा बेलिब्रिज मौज्दात छन्। ती बेलिब्रिजको लम्बाइ करिब ५० मिटर मात्र भएकाले क्षतिग्रस्त सबै स्थानमा तत्काल प्रयोग गर्न पर्याप्त हुने अवस्था छैन।
थप बेलिब्रिज वैदेशिक सहयोगबाट प्राप्त गर्नुपर्ने भएकाले सरकारले भारत र चीनसँग सहयोगका लागि पहल गरेको छ। दुवै देशबाट आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ।
आवश्यकता र सम्भाव्यता पहिचान गरी उपलब्ध बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ।
सडक खुलाउन उपकरण परिचालन
क्षतिग्रस्त सडक खुलाउन सरकारले १० वटा उपकरण परिचालन गरेको छ। निजी क्षेत्रबाट पनि थप १० वटा उपकरण परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गरी यातायात सञ्चालनमा ल्याउने कामलाई उच्च प्राथमिकतामा राखेर तीव्र गतिमा काम भइरहेको मन्त्रालयको भनाइ छ।
बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी
रसुवालाई पुनः सडक सञ्जालमा जोड्न बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म पुग्न सकिने अवस्था नरहेको मन्त्रालयले स्पष्ट पारेको छ। त्यसैले बेत्रावतीमा वैकल्पिक पुल निर्माण गरी सडक सम्पर्क पुनःस्थापित गर्ने कामलाई तत्काल प्राथमिकतामा राखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्