काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपिल जारी गर्दै भोटेकोशी बाढी प्रभावितका लागि प्रदेश सरकारले ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
मुख्यमन्त्री पाण्डेले कठिन परिस्थितिमा गण्डकी प्रदेशभित्रका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् ।
विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न उनले आग्रह गरेका छन् ।
सम्पर्कविहीन आफन्तको अवस्थाबारे स्वाभाविक रूपमा चिन्ता हुने भए पनि यस्तो समयमा संयम, धैर्य र आपसी सहयोग अत्यन्त आवश्यक रहेको अपिलमा उल्लेख छ ।
विपद्मा परेका नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै मुख्यमन्त्री पाण्डेले एकजुट भएर विपद्को सामना गर्न र पीडितको साथमा उभिन आग्रह गरेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्