काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलद्वारा सञ्चालित ‘१७ बिन क्याफे’ले शुक्रबारको सम्पूर्ण कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गर्ने भएको छ ।
क्याफेले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो ।
‘१७ बिन क्याफेले आजको दिनभरको सम्पूर्ण बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने भएको छ । बाढीबाट प्रभावित परिवारहरूको राहत र सहयोगका लागि गरिएको यो मानवीय पहलमा सबैले साथ दिऔँ,’ क्याफेले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
बुधबार रसुवामा आएको बाढीपछि विश्व खेलकुद क्षेत्रबाट नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि आह्वान भइरहेको छ । विभिन्न देशका राष्ट्रिय खेलाडीहरूले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गरेका छन् ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी प्रीति राईले पनि बिहीबार राहत कोषमा ३५ हजार रुपैयाँ जम्मा गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली सनराइजर्स हैदराबादले पनि इन्स्टाग्राममार्फत बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरूको सुरक्षाको कामना गरेको छ ।
‘नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति हार्दिक समवेदना तथा प्रार्थना । सबैको सुरक्षा र कठिन परिस्थितिको सामना गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु,’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
वेस्ट इन्डिजका क्रिकेटर सुनिल नारायणले पनि फेसबुकमार्फत नेपालको सुरक्षाको कामना गरेका छन् ।
‘नेपालमा आएको बाढी निकै हृदयविदारक र भयानक छ । प्रभावित व्यक्तिहरूको सुरक्षाको कामना गर्दछु,’ नारायणले लेखेका छन् ।
त्यसैगरी स्पेनिस क्लब बार्सिलोना, एट्लेटिको मड्रिडलगायतका क्लबले पनि बाढीबाट भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै प्रभावितको सुरक्षाको कामना गरेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्