काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज तथा उद्धार तथा राहत वितरणलाई सहज बनाउन उपलब्ध गराउँदै आएको निःशुल्क डेटा, अननेट भ्वाइस र एसएमएस सेवा थप सात दिनका लागि बढाएको छ।
कम्पनीका अनुसार थपिएको सेवा शनिबारदेखि लागू हुनेछ। यससँगै प्रभावित क्षेत्रमा एनसेलका ग्राहकले थप एक सातासम्म निःशुल्क डेटा, अननेट भ्वाइस र १०० वटा एसएमएस प्रयोग गर्न सक्नेछन्।
यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अननेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त सेवा अवधि शुक्रबार सकिँदै थियो।
विपद्का समयमा सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सञ्चार सेवाको महत्वपूर्ण भूमिका हुने भन्दै एनसेलले निःशुल्क सेवाको अवधि थप गरेको जनाएको छ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज होस् भन्ने उद्देश्यले सेवा विस्तार गरिएको बताउनुभयो।
१८ वटा मोबाइल टावर पुनः सञ्चालन
एनसेलले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ। थप ९ वटा प्रभावित टावर पुनः सञ्चालनका लागि काम भइरहेको कम्पनीले जनाएको छ।
यसैगरी, खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले बिहीबार एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो।
कम्पनीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै, एसएमएस तथा सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाह गरिरहेको पनि एनसेलले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्