टीकापुर, भदौ १४ गते । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि कैलालीका ८० जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । उनीहरूका परिवारजन आफन्तको खोजी तथा उद्धारको खबरको प्रतीक्षामा छटपटाइरहेका छन् ।
टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका केही व्यक्ति सम्पर्कमा आए पनि ३६ जना अझै सम्पर्कविहीन रहेको स्थानीय प्रशासनले जनाएको छ । विशेषगरी रसुवाका जलविद्युत् आयोजनाको सुरुङ नम्बर २१६ मा कार्यरत कैलालीका श्रमिकका परिवार उद्धारको खबर सुन्न आतुर छन् ।
बाढीपछि टीकापुर नगरपालिका–१ समितिपुरका वीरबहादुर चौधरी, सनिशराम थारु, मनिराम चौधरी, राजेश चौधरी, भुवन चौधरी, अन्तराम चौधरी, खुसीराम चौधरी र दीपक चौधरी सम्पर्कविहीन हुनुहुन्छ । सोही वडाको भूपू कमैया बस्तीका बादल चौधरी, बिफु चौधरी, मानबहादुर चौधरी, शिवनारायण चौधरी र प्रजित डगौरा थारु पनि सम्पर्कमा आउनुभएको छैन । एकतापुरका राजकुमार थारु, विपतराम चौधरी, आशिष चौधरी, आशिषकी बहिनी कमला चौधरी तथा विपतपुरका साधुराम चौधरी पनि सम्पर्कविहीन हुनुहुन्छ ।
त्यस्तै, टीकापुर–५ मनिकापुरका चुन्की थारु, चन्द्रबहादुर थारु, धनुवा थारु, ठगराम चौधरी र कमलबहादुर चौधरी सम्पर्कविहीन हुनुहुन्छ । पारिवारिक स्रोतका अनुसार उहाँहरू जलविद्युत् आयोजनाको सुरुङ नम्बर २१६ मा कार्यरत हुनुहुन्थ्यो ।
रसुवा भन्सार कार्यालयमा कार्यरत टीकापुर–१ ब्लक नं. १३ का सन्तोष न्यौपाने, बैंकमा कार्यरत ब्लक नं. १४ का सुभाष रावल, नुवाकोटको विदुरमा कार्यरत टीकापुर–७ डाँडाबोझीका अर्जुनकुमार डगौरा थारु तथा टिमुरे पार्किङमा काम गर्ने ज्योतीनगरका सन्दीप सन्ज्याल, मनकला सन्ज्याल, सुस्मिता जोशी र टीकापुर–२ की करिश्मा शाही पनि सम्पर्कविहीन हुनुहुन्छ ।
टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीका अनुसार वडा कार्यालयहरूले सम्पर्कविहीन व्यक्तिका परिवारबाट सूचना संकलन गरी प्रशासनलाई उपलब्ध गराएका छन् । परिवारजन भने आफन्तको उद्धार भएको खबरको प्रतीक्षामा छन् । समितिपुरका राजेश चौधरीकी श्रीमती पुष्पा चौधरी आफन्त सम्पर्कविहीन भएपछि बेहोस हुने अवस्थामा पुगेको फुलकुमारी चौधरीले बताउनुभयो । उहाँले आफ्ना भाइ दीपक चौधरी पनि सम्पर्कमा नआएको भन्दै परिवारको अवस्था निकै कठिन बनेको बताउनुभयो ।
कैलालीका युवालाई काममा लैजाने समितिपुरकै ठेकेदार तुलाराम चौधरी र भान्से दलबहादुर चौधरी भने सुरक्षित सम्पर्कमा आउनुभएको छ । उहाँहरूका अनुसार बाढी आउँदा सुरुङमा कैलाली र डोटीका ४२ जना तथा चारजना चिनियाँ कर्मचारी कार्यरत थिए । करिब दुई सय मिटर गहिरो सुरुङमा काम भइरहेकाले बाढी आउँदा भित्र पसिसकेका कर्मचारी थुनिएको हुनसक्ने आशंका गरिएको छ ।
जानकी गाउँपालिकाले परिवारलाई सहयोग गर्ने
जानकी गाउँपालिकाबाट चार जना सम्पर्कविहीन भएका छन् । वडा नं. १ धर्मापुरका श्याम चौधरी, वडा नं. ४ बेलपुरका चक्रबहादुर चौधरी र राजकपुर चौधरी तथा वडा नं. ६ जगतपुरका प्रविण चौधरी सम्पर्कविहीन हुनुहुन्छ । उहाँहरूसँगै रहेका वडा नं. १ तोरैयाँपुरका दिलिप चौधरीको उद्धार भएको तथा वडा नं. ६ जगतपुरका आशिष चौधरी सम्पर्कमा आउनुभएको गाउँपालिकाले जनाएको छ ।
सम्पर्कविहीन भएपछि चिन्तामा रहेका परिवारलाई गाउँपालिकाले मनोपरामर्श सेवा सुरु गरेको छ । साथै आफन्तको खोजीका लागि प्रभावित क्षेत्रमा जाने परिवारका सदस्यलाई यातायात खर्च उपलब्ध गराउने तयारी गरिएको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताउनुभयो । उहाँका अनुसार परिवारको घरमै पुगेर मनोसामाजिक परामर्श सेवा प्रदान गर्न परामर्शकर्तालाई परिचालन गरिएको छ ।
कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका कैलाली, कञ्चनपुर र बर्दियाका युवालाई सम्बन्धित निर्माण कम्पनीसँग समन्वय गरी घर फर्काउने तयारी भइरहेको जानकारी दिनुभयो ।
कैलालीका ८० भन्दा बढी अझै सम्पर्कविहीन
जिल्ला प्रशासन कार्यालय कैलालीले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार जिल्लाबाट ८० जनाभन्दा बढी अझै सम्पर्कविहीन हुनुहुन्छ । धनगढी उपमहानगरपालिकाका चार जना, गौरीगंगा नगरपालिकाका १७ जना तथा जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न व्यक्ति सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्पर्कमा आइसकेका व्यक्तिका परिवारले त्यसबारे जानकारी गराउन आग्रह गर्नुभएको छ । राहत तथा सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले जिल्ला प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तह वा नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्