काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नेकपाले बाढीबाट प्रभावित नागरिकहरूको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको जनाएको छ।
पार्टीले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ। प्रभावित नागरिकको तत्कालीन आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै राहत सामग्री उपलब्ध गराइने नेकपाले जनाएको छ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनर्स्थापनाका लागि टेवा पुर्याउने उद्देश्यले नगद तथा राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको हो।
पार्टीले संकटको समयमा नागरिकको जीवनरक्षा, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सबै पक्षबीच सहकार्य र हातेमालो आवश्यक रहेको जनाएको छ।
रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन सबै पक्ष सक्रिय हुनुपर्नेमा नेकपाले जोड दिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्