वराहक्षेत्र । काभ्रे र सिन्धुलीमा भएको अविरल वर्षाका कारण सुनकोसी नदीको बहाव बढेपछि सप्तकोसी नदी किनारका बस्तीमा प्रहरीले सतर्कता अपनाउन माइकिङ गरेको छ ।
पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढ्न थालेपछि वराहक्षेत्र नगरपालिकाअन्तर्गत नदी किनारका बस्तीमा प्रहरीले स्थानीयलाई सचेत गराएको हो ।
कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान ६ बजे सप्तकोसीको चतरामा १ लाख ९ हजार ४ सय क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन भएको थियो । दिउँसो १२ बजे बहाव बढेर १ लाख २८ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कन्ट्रोल रुमका कर्मचारी मुरली सिंहले बताए ।
पानीको बहाव बढेपछि कोसी ब्यारेजका १७ वटा ढोका खोलिएका छन् ।
त्यस्तै, ब्यारेजमा आइतबार बिहान ६ बजे १ लाख ६० हजार ५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन भएकामा दिउँसो १२ बजे १ लाख ५२ हजार ६६० क्युसेक प्रतिसेकेन्ड मापन भएको जनाइएको छ ।
सुनकोसीसहित सप्तकोसीमा मिसिने सहायक नदीमा पानीको मात्रा बढ्दै गएपछि महेन्द्रनगर इलाका प्रहरी कार्यालयले नदी किनारका बस्तीमा माइकिङ गरेको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार वराहक्षेत्र मन्दिरदेखि धराहराटपनसम्मको नदी किनार क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
उनका अनुसार हालसम्म सप्तकोसीमा जोखिमपूर्ण अवस्थामा पानीको बहाव बढेको छैन । तर, माथिल्लो क्षेत्रमा भइरहेको वर्षाका कारण नदीको जलसतह थप बढ्न सक्ने भएकाले पूर्वसावधानी अपनाइएको हो ।
प्रहरीले नदी किनारमा रहेका बस्तीका स्थानीयलाई नदीको अवस्था निरन्तर नियाल्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा बाढीको अवस्था आए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
सप्तकोसीमा जलसतह बढे पनि मधुवन, राजावास, प्रकाशपुरलगायत पूर्वी तटबन्ध क्षेत्रमा तत्काल जोखिम नरहेको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्