काठमाडौं । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार तथा कामदारसहित २०१ जना सम्पर्कविहीन भएका छन् ।
आयोजनाको सुरुङ क्षेत्रमा कर्मचारी, परामर्शदाता, ठेकेदार तथा कामदारलगायत २०१ जना सम्पर्कमा आउन नसकेको आयोजनाले जनाएको छ ।
आयोजनाकी कम्पनी सचिव तथा प्रशासन प्रमुख लीला अर्यालका अनुसार प्राप्त आधिकारिक विवरणअनुसार उनीहरू घटनापछि सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेमा आयोजनाका २१ जना कर्मचारी, कर्मचारीका सातजना परिवारका सदस्य, परामर्शदाता कम्पनी चेस्कोका १२ जना तथा लट–१ अन्तर्गतका ठेकेदारतर्फका चारजना चिनियाँ र दुईजना नेपाली नागरिक छन् ।
त्यस्तै, काठमाडौं विश्वविद्यालयबाट इन्टर्नमा आएका तीन विद्यार्थी, ठेकेदार पक्षका १५१ जना कामदार र एकजना सुरक्षा गार्डसमेत सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ ।
घटनालगत्तै नेपाली सेनाको १६ सदस्यीय टोली घटनास्थलमा परिचालन भएको छ । आयोजनाका प्रबन्ध निर्देशक आनन्द ढुंगेल र वरिष्ठ इन्जिनियर रवीन्द्र सिम्खडा पनि घटनास्थलमै खटिएका छन् ।
उद्धार तथा उत्खननका लागि आवश्यक उपकरणको प्रयोगबारे छलफल गर्दै प्रभावित क्षेत्र पहिचान तथा खोजी कार्य अघि बढाउने प्रयास भइरहेको आयोजनाले जनाएको छ ।
सुरुङ क्षेत्रमा फसेका व्यक्तिको अवस्था यकिन हुन नसकेकाले उद्धार टोलीले सम्भावित स्थान पहिचान गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिने प्रयास गरिरहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्