काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावर हाउसमा फसेका श्रमिक र कर्मचारीको उद्धार हुन नसक्दा उनीहरू सकुशल भेटिने सम्भावना क्षीण हुँदै गएको छ।
भदौ १० गते आएको भीषण बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ, पावर हाउस तथा कर्मचारी आवास क्षेत्रमा कार्यरत सयौँ व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढी आएको पाँच दिन बितिसक्दा पनि कतिपय आयोजनामा उद्धार टोली सुरुङभित्र प्रवेश गर्न सकेको छैन।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार भोटेकोसी बाढीबाट ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनामा कार्यरत ९७७ जना सम्पर्कविहीन रहेको विवरण छ।
माथिल्लो त्रिशूली–१ मा ५७६ जना सम्पर्कविहीन
कोरियाली कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) मा कार्यरत ५७६ जना सम्पर्कविहीन छन्। आयोजनामा करिब एक हजार जना कार्यरत रहेकामा ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कबाहिर रहेको जनाइएको छ।
यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना मा कर्मचारी, परिवारका सदस्य, परामर्शदाता, ठेकेदार र कामदार गरी २०१ जना सम्पर्कविहीन छन्।
आयोजनाकी कम्पनी सचिव तथा प्रशासन प्रमुख लीला अर्यालका अनुसार सम्पर्कविहीन हुनेमा आयोजनाका २१ कर्मचारी, उनीहरूका परिवारका सात सदस्य, परामर्शदाता कम्पनी चेस्कोका १२ जना, लट–१ ठेकेदारतर्फका चार चिनियाँ र दुई नेपाली नागरिक, काठमाडौं विश्वविद्यालयबाट इन्टर्नमा गएका तीन विद्यार्थी, ठेकेदार पक्षका १५१ कामदार र एक सुरक्षा गार्ड छन्।
घटनालगत्तै नेपाली सेनाको १६ सदस्यीय टोलीसहित आयोजनाका प्रबन्ध निर्देशक आनन्द ढुंगेल र वरिष्ठ इन्जिनियर रवीन्द्र सिम्खडा घटनास्थलमा खटिएका छन्।
उद्धारका लागि फ्रन्ट फेसमा चारवटा प्वाल ड्रिलिङ गरिएको छ। अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार अघि बढाउने तयारी गरिएको छ।
त्रिशूली–३ ‘ए’मा ४२ जना फसेका
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना (६० मेगावाट) को सुरुङमा ४२ जना फसेका छन्। उनीहरूको उद्धारका लागि सुरुङ खोतल्ने काम जारी छ।
सांसद श्रीराम न्यौपानेसहितको टोलीले सुरुङको प्रवेशमार्ग खोज्ने क्रममा आइतबार दिउँसो ३ः१५ बजे टनेल भेटिएको जानकारी दिएको छ।
उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले सुरुङभित्र प्रवेश गर्नेदेखि ब्लास्टिङ गर्नेसम्मका उपाय अपनाइरहेका छन्।
हाल उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली खटिएको छ।
यसअघि टोली दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ सम्म पुगेर २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। डोरीको सहायताले टोली तल झरेर भित्रबाट प्रतिक्रिया खोज्दा कुनै आवाज नआएपछि उद्धारलाई तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम एकसाथ अघि बढाइएको छ।
रसुवागढीमा पावर हाउसमा १४ जना फसेको अनुमान
रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) मा ९३ जना कार्यरत थिए। आयोजनाका ४९ र ठेकेदार कम्पनीका ४२ जनामध्ये चार जनाको जीवितै उद्धार गरिएको र दुई जनाको शव भेटिएको कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिए।
उनका अनुसार पावर हाउसमा अझै कम्तीमा १४ जना फसेको अनुमान गरिएको छ।
लाङटाङ खोलाका ४२ जना अझै सम्पर्कविहीन
लाङटाङ खोला जलविद्युत् आयोजना (२० मेगावाट) का ६० कर्मचारीमध्ये १८ जनाको सकुशल उद्धार गरिएको छ। बाँकी ४२ जना अझै सम्पर्कविहीन छन्।
प्रवर्द्धक मल्टी इनर्जीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार सम्पर्कविहीन सबैजसो सुरुङभित्र काम गरिरहेका प्राविधिक तथा कामदार हुन्।
“आज सुरुङ खोल्ने तयारीमा सेना छ। ४२ जना मिसिङ हुनुहुन्छ। सुरुङमा पानी गइरहेको हुँदा हामी आशामै छौँ,” उनले भने।
सम्पर्कविहीन हुनेमा आठ प्राविधिक इन्जिनियर, पाँच सहयोगी र एक सुरक्षा गार्डसहित सुरुङभित्र कार्यरत कामदारहरू छन्।
सुरुङको मुख खुला रहेकाले र भित्र पानी बगिरहेको अवस्थामा अक्सिजनको सम्भावना हुनसक्ने भन्दै सुरुङभित्र मानिस जीवितै रहेको आशामा नेपाली सेनाको टोलीले उद्धार प्रयास जारी राखेको छ।
बाढीले आयोजनाको पावर हाउस र क्याम्प क्षेत्र पूर्ण रूपमा बगाएको छ। भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने अन्तिम तयारी भइरहेका बेला आयोजना प्राकृतिक विपत्तिको चपेटामा परेको हो।
“भौतिक क्षति पुनर्निर्माण गर्न सकिएला, तर देशका दक्ष प्राविधिक, इन्जिनियर र विशेषज्ञ जनशक्तिको मानवीय क्षति राष्ट्रकै लागि ठूलो र अपूरणीय घाटा हो,” आचार्यले भने।
अन्य आयोजनामा पनि कर्मचारी सम्पर्कविहीन
भोटेकोसी बाढीपछि रसुवा–भोटेकोसी (१२० मेगावाट) आयोजनाका चार कर्मचारी सम्पर्कविहीन छन्।
चिलिमे जलविद्युत् आयोजना (२२ मेगावाट) का आठ जना सम्पर्कविहीन छन्। नेपाली सेनाले सुरुङमार्फत उनीहरूको उद्धारको प्रयास गरिरहेको छ।
त्यस्तै, मैलुङ खोला जलविद्युत् आयोजना (५ मेगावाट) का सात कर्मचारी तथा इन्जिनियर सम्पर्कविहीन छन्।
त्रिशूली जलविद्युत् आयोजना (२४ मेगावाट) बाट एक जना, देवीघाट जलविद्युत् आयोजना (१४.१ मेगावाट) बाट एक जना तथा मिडिल त्रिशूली गंगा जलविद्युत् आयोजना (१५.६ मेगावाट) बाट दुई जना सम्पर्कविहीन रहेको विवरण छ।
विदेशी विशेषज्ञ बोलाउन ढिलाइ भएको गुनासो
सुरुङभित्र फसेकाहरूको उद्धारका लागि अत्याधुनिक उपकरण र विशेषज्ञ जनशक्ति आवश्यक भए पनि सरकारले विदेशी विशेषज्ञ बोलाउन ढिलाइ गरेको भन्दै विज्ञहरूले आलोचना गरेका छन्।
बाढी आएको पाँच दिनसम्म पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन नसक्दा उनीहरू जीवितै भेटिने सम्भावना दिनप्रतिदिन कमजोर हुँदै गएको उनीहरूको भनाइ छ।
भौतिक संरचना पुनर्निर्माण गर्न सकिने भए पनि दक्ष प्राविधिक तथा कामदारको सम्भावित मानवीय क्षति जलविद्युत् क्षेत्रका लागि मात्रै होइन, मुलुककै लागि अपूरणीय क्षति बन्ने जोखिम बढेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्