काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भइरहेको विपद् व्यवस्थापन, शव व्यवस्थापन तथा राहत–पुनःस्थापनाका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइएको विषयप्रति गम्भीर आपत्ति जनाएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित छलफल कार्यक्रममा बोल्दै आङदेम्बेले शव व्यवस्थापनजस्तो अत्यन्त संवेदनशील विषयमा परिवार र आफन्तको भावनालाई बेवास्ता गरिएको गुनासो आएको बताए।
‘शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिएको विषय पनि गम्भीर रूपमा उठेको छ,’ उनले भने।
बाढीपछि भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि अर्को ठूलो चुनौती बनेको पनि आङदेम्बेले बताए। यस विषयमा आफूले प्रधानमन्त्री बालेन्द्र शाहको समेत ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए।
‘भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा फैलिएको दुर्गन्ध पनि हाम्रो लागि ठूलो चुनौती बनेको छ। यी विषयमा मैले हिजो प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु,’ आङदेम्बेले भने।
स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरी प्राप्त सुझावका आधारमा आङदेम्बेले प्रधानमन्त्रीलाई नौ बुँदे ध्यानाकर्षणपत्र समेत बुझाएका छन्।
कांग्रेसले बाढीबाट प्रभावित नागरिकका लागि तत्काल राहत, खोज तथा उद्धार, शव व्यवस्थापन, पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।
बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको तथा विभिन्न क्षेत्रमा शव व्यवस्थापन र सरसफाइ चुनौतीपूर्ण बन्दै गएको अवस्थामा विपद् व्यवस्थापनमा सरकार, स्थानीय तह र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको कांग्रेसको निष्कर्ष छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्