काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै मुलुकका केही स्थानमा अझै दुई दिन भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार सोमबार (भदौ १५) दिउँसो देशका पहाडी भूभाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सोमबार राति कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । कोशी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार (भदौ १६) दिउँसो देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । सोही दिन कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार राति पनि कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यसैगरी बुधबार (भदौ १७) दिउँसो देशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार राति कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
लगातारको वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा थप सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्