काठमाडौं । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उद्धारको आवश्यकता मूल्यांकन गर्न पैदल गस्ती सुरु गरेको छ ।
सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउने र आवश्यकताअनुसार उद्धार तथा राहतको अवस्था मूल्यांकन गरिरहेको जनाएको छ ।
“प्रभावित क्षेत्रका जंगल एवं डाँडाहरूका साथै खोला र बस्ती इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई उद्धारको आवश्यकता मूल्यांकन गर्न पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने कार्य भएको छ,” नेपाली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
गस्तीका क्रममा स्याफ्रुबेसी क्षेत्रमा राहत तथा राशन वितरण गर्नुका साथै लाङटाङ हाइड्रो क्षेत्रमा रेकी र गस्तीसमेत सञ्चालन गरिएको सेनाले जनाएको छ ।
यसैगरी, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म दुई हजार ६३२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम)का प्रभावित क्षेत्रसम्म आठ हजार ९०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने कार्यलाई समेत सेनाले निरन्तरता दिएको छ । हालसम्म धुन्चेलगायत प्रभावित क्षेत्रमा करिब २३ हजार १९४ किलोग्राम राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्