काठमाडौँ, भदौ १५ गते । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रसहित आसपासका पहाडी तथा हिमाली भेगमा आगामी केही दिन वर्षा हुने सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाएर उद्धार तथा राहत कार्यमा खटिन आग्रह गरेको छ ।
बाढीका कारण अस्तव्यस्त बनेका रसुवा, नुवाकोट, धादिङ र गोरखाका पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विभागले सचेत गराएको हो ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार ती क्षेत्रसँगै लाङटाङ, सिन्धुपाल्चोक तथा गोरखाका माथिल्लो हिमाली भेगका केही स्थानमा समेत वर्षा हुने सम्भावना छ ।
“बाढी आएकै स्थानमा आकस्मिक बहाव आउन सक्छ । तल्लो तटीय क्षेत्रका बासिन्दा र उद्धारकर्मीले मौसमी पूर्वसूचनालाई निरन्तर पछ्याउनुपर्ने देखिएको छ,” उहाँले भन्नुभयो ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मौसमविद् दाहालका अनुसार १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम र ५० मिलिमिटरभन्दा बढी वर्षालाई भारी वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।
यसैगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण गेग्रानसहितको आकस्मिक बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ । यसबाट दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहत कार्य प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको मेलम्ची–घ्याङ क्षेत्रमा ८९.६ मिलिमिटर मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्