काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन र ठगी भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
विपद्को समयमा प्राप्त हुने सहयोग रकम दुरुपयोग हुनबाट जोगाउन तथा सर्वसाधारणलाई वित्तीय ठगीबाट सुरक्षित राख्न राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार (भदौ १५) सूचना जारी गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
राष्ट्र बैंकले विपद्का बेला सहयोग गर्न चाहने नागरिकलाई रकम पठाउनुअघि खाता तथा भुक्तानी विवरण राम्रोसँग यकिन गर्न अनुरोध गरेको छ ।
खाताको नाम अनिवार्य जाँच गर्न आग्रह
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, डिजिटल वालेट, कनेक्ट आईपीएस वा अन्य कुनै पनि विद्युतीय भुक्तानी माध्यमबाट रकम पठाउँदा खातावालाको नाम ‘Prime Minister Disaster Relief Fund’ भए–नभएको अनिवार्य रूपमा जाँच गर्नुपर्छ ।
योगदान गर्न चाहेको रकम प्रविष्ट गर्दा विशेष सावधानी अपनाउन र रकम पठाउनुअघि प्राप्तकर्ताको विवरण तथा रकम पुनः जाँच गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
सहयोग रकम जम्मा गर्दा नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयका आधिकारिक वेबसाइटमा प्रकाशित बैंक खाता विवरण मात्र प्रयोग गर्न भनिएको छ ।
सामाजिक सञ्जालमा आएका क्यूआर कोड नस्क्यान गर्न आग्रह
सामाजिक सञ्जाल, इमेल तथा विभिन्न म्यासेजिङ एपमार्फत प्राप्त हुने वा फैलाइएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्न राष्ट्र बैंकले सचेत गराएको छ ।
सहयोग रकम पठाउन मद्दत गर्ने बहानामा कसैले ओटीपी, पिन, पासवर्ड वा अन्य संवेदनशील विवरण मागेमा त्यस्ता जानकारी कसैलाई पनि उपलब्ध नगराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।
भुक्तानी कारोबार गर्दा सम्बन्धित बैंक, वालेट वा भुक्तानी सेवा प्रदायकको आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।
ठगीमा परे तत्काल जानकारी दिन आग्रह
आफू वित्तीय ठगीमा परेको शंका लागेमा वा ठगीमा परिसकेको अवस्थामा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउन राष्ट्र बैंकले भनेको छ ।
त्यस्तै, नेपाल प्रहरीको साइबर ब्यूरो तथा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा समेत उजुरी तथा जानकारी गराउन अनुरोध गरिएको छ ।
विपद्का बेला सहयोग गर्न चाहने नागरिकलाई वास्तविक र आधिकारिक माध्यमबाट मात्र रकम पठाउन आग्रह गर्दै राष्ट्र बैंकले सहयोग रकम सुरक्षित रूपमा सम्बन्धित कोषसम्म पुग्ने सुनिश्चित गर्न सबैलाई सचेत रहन भनेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्