काठमाडौं । हिमाली क्षेत्रमा आउने आकस्मिक बाढी नेपालका लागि नयाँ घटना होइन । तर बाढी आउनुअघि जोखिमको संकेत पहिचान गर्ने, सम्भावित क्षतिको आँकलन गर्ने र तल्लो तटीय क्षेत्रका बासिन्दालाई समयमै सूचना दिने प्रणाली भने अझै प्रभावकारी बन्न सकेको छैन ।
जलवायु विज्ञ ङमिन्द्र दाहालका अनुसार प्राकृतिक प्रकोप रोक्न नसकिए पनि त्यसलाई विपद्मा परिणत हुनबाट रोक्न सकिन्छ । त्यसका लागि प्राकृतिक घटनाको कारण, स्थान, आवृत्ति र प्रभावबारे वैज्ञानिक अध्ययन आवश्यक रहेको उहाँको भनाइ छ ।
“प्रकोपलाई हामी केही गर्न सक्दैनौँ, विपद् हुन दिनु हुँदैन,” दाहालले भन्नुभयो ।
उहाँका अनुसार मानवीय गतिविधि र अव्यवस्थित विकासले प्राकृतिक प्रकोपको जोखिम झन् बढाएको छ । पहाडी क्षेत्रमा जथाभावी संरचना निर्माण, नदीको प्राकृतिक बहावमा हस्तक्षेप तथा भू–भागमा अत्यधिक मानवीय गतिविधिले जोखिम बढाएको उहाँले बताउनुभयो ।
जलवायु परिवर्तनका कारण हिमालय तीव्र गतिमा तात्दै जाँदा नेपालले त्यसको ठूलो असर भोगिरहेको दाहालको भनाइ छ । त्यसैले जलवायु अनुकूलनका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो ।
यसपटक रसुवाको भोटेकोशीमा आएको बाढी भने यसअघिको अनुमानभन्दा फरक प्रकृतिको रहेको उहाँको विश्लेषण छ । हिमनदीमा पहिरो खस्दा हिमताल बन्ने अवस्थासमेत नआएको र हिउँ, ढुंगा, माटो तथा पानी एकैपटक तल्लो क्षेत्रमा बग्दा ठूलो क्षति भएको उहाँले बताउनुभयो ।
“विकासको नाममा हामी चुकेका छौँ । नदीलाई आर्थिक गतिविधि केन्द्रित बनाउँदै लगियो,” दाहालले भन्नुभयो ।
उहाँले हिमताल तथा हिमनदीजन्य जोखिमको पहिचान, निगरानी, पूर्वसूचना र विपद् व्यवस्थापनमा राज्यका सम्बन्धित निकायको संस्थागत क्षमता कति प्रभावकारी छ भन्ने विषयमा गम्भीर अध्ययन आवश्यक रहेको बताउनुभयो ।
नदीको पानी मात्र हेरेर पुग्दैन
पूर्वसूचना प्रणाली र अनुसन्धानमा कार्यरत विज्ञ दीनानाथ भण्डारीका अनुसार हिमनदीमा पहिरो खस्दा नदीको बहाव अस्वाभाविक रूपमा तीव्र हुन सक्छ । पहिरोसँगै हिउँ, ढुंगा र माटो मिसिँदा त्यसको प्रभाव तल्लो क्षेत्रमा पुग्दै जाँदा अझ बढ्न सक्छ ।
“थोरै मात्र खसेको भए पनि तल आउँदैगर्दा त्यसको प्रभाव बढ्दै जान्छ,” भण्डारीले भन्नुभयो ।
वर्षायाममा नदीमा पहिल्यै पानीको बहाव बढी हुने भएकाले हिमनदीबाट आएको हिउँ, पहिरो, ढुंगा, माटो र पानी मिसिँदा बाढीको विनाशकारी क्षमता अझ बढ्ने उहाँको भनाइ छ ।
भण्डारीका अनुसार यस्तो घटनाको पूर्वसंकेत पहिचान गर्न दुर्गम हिमाली क्षेत्रमा निरन्तर निगरानी र वास्तविक समयको तथ्याङ्क आवश्यक हुन्छ । त्यसका लागि जोखिमयुक्त नदी तथा खोलामा निगरानी क्यामेरा, नदीको सतह र बहाव मापन गर्ने उपकरण तथा आवश्यकताअनुसार भाइब्रेसन मापन गर्ने प्रविधि प्रयोग गर्न सकिन्छ ।
“क्यामेराहरू भएको भए नदीको बहाव र सतह निगरानी गर्न सकिन्थ्यो,” उहाँले भन्नुभयो ।
तर नेपालका दुर्गम तथा जोखिमयुक्त हिमाली क्षेत्रमा यस्ता प्रविधिको प्रयोग अझै सीमित रहेको उहाँले बताउनुभयो । यही कारण कतिपय अवस्थामा घटना भइसकेपछि मात्रै त्यसबारे जानकारी हुने अवस्था रहेको उहाँको भनाइ छ ।
पूर्वसूचनामा लगानी अपर्याप्त
भण्डारीका अनुसार हिमाली क्षेत्रबाट आउने आकस्मिक बाढीको पूर्वानुमान तथा पूर्वसूचना प्रणालीको प्रमुख कमजोरी नै पर्याप्त निगरानीको अभाव हो ।
“मोनिटरिङ र सर्भिलेन्स खर्चिलो काम हो । यसको महत्व बुझिएको छैन,” उहाँले भन्नुभयो ।
जोखिमयुक्त नदी प्रणालीको नियमित निगरानी, तथ्याङ्क संकलन र विश्लेषणका लागि पर्याप्त लगानी आवश्यक भए पनि विपद् न्यूनीकरणको पूर्वतयारीमा अपेक्षाकृत कम प्राथमिकता दिइएको उहाँको भनाइ छ ।
प्रभावकारी पूर्वसूचना भनेको बाढी आइसकेपछि सन्देश पठाउनु मात्र नभई सम्भावित जोखिमको पहिचान, बाढीको गति र प्रभावको अनुमान तथा जोखिममा रहेका मानिसलाई पर्याप्त समयअघि सुरक्षित स्थानमा जान सक्ने गरी सूचना दिनु भएको उहाँले स्पष्ट पार्नुभयो ।
हिमतालको पानी मात्र हेरेर जोखिम आँकलन नहुने
हिमाली क्षेत्रमा बाढीको जोखिम मूल्याङ्कन गर्दा हिमतालमा कति पानी छ भन्ने विषयमा मात्र केन्द्रित हुनु पर्याप्त नहुने भण्डारी बताउनुहुन्छ ।
हिमनदीको अवस्था, हिउँको मात्रा, पहिरोको सम्भावना, भूगर्भीय अवस्था, भू–उपयोग, वर्षा तथा नदीको बहावलाई एकीकृत रूपमा अध्ययन गर्नुपर्ने उहाँको सुझाव छ ।
“हिमताल तथा हिमनदीको जोखिम मूल्याङ्कनमा पानीको मात्रा, बर्खा र हिउँदको अवस्था साथै पहिरो, भूगर्भ र भू–उपयोग पनि हेर्नुपर्छ,” उहाँले भन्नुभयो ।
हिमनदीमुनिको माटो वा चट्टानको अवस्था, हिउँको मात्रा र पहिरो नदीमा मिसिँदा हुन सक्ने प्रभावबारे मिहिन अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।
चीन–नेपाल–भारतबीच तथ्याङ्क आदान–प्रदान आवश्यक
हिमाली नदी तथा हिमनदीबाट उत्पन्न हुने जोखिम सीमाभित्र मात्र सीमित नहुने भएकाले नेपालले छिमेकी मुलुकसँग वास्तविक समयको तथ्याङ्क तथा पूर्वसूचना आदान–प्रदानलाई प्राथमिकता दिनुपर्ने भण्डारीको सुझाव छ ।
विशेषगरी चीनको भूभागबाट उत्पत्ति हुने नदी प्रणालीमा माथिल्लो क्षेत्रमा हुने घटनाको प्रभाव नेपाल हुँदै भारतसम्म पुग्न सक्ने भएकाले तीन देशबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
“चीन, नेपाल र भारतबीच सहकार्य हुनुपर्छ । तथ्याङ्क र स्याटलाइट तथ्याङ्क सेयर गर्नुपर्छ र त्यसलाई उपयोग गर्नुपर्छ,” भण्डारीले भन्नुभयो ।
बाढी आएपछि पठाइएको सूचना पूर्वसूचना होइन
नेपालको पूर्वसूचना प्रणालीमा अर्को समस्या सूचना प्रवाहको समय रहेको विज्ञ भण्डारीको भनाइ छ । बाढी आउनुअघि जोखिममा रहेका मानिससम्म चेतावनी पुग्नुपर्ने भए पनि कतिपय अवस्थामा बाढी आइसकेपछि मात्रै सूचना पठाउने गरिएको उहाँले बताउनुभयो ।
त्रिशूली क्षेत्रको उदाहरण दिँदै उहाँले बाढी आइसकेपछि पठाइएको चेतावनीलाई प्रभावकारी पूर्वसूचना मान्न नसकिने बताउनुभयो ।
भोटेकोशीको पछिल्लो घटनाले नेपालमा बाढी पूर्वसूचना प्रणालीलाई नदीको पानीको सतह मापनमा मात्र सीमित राख्न नहुने देखाएको छ । हिमाली क्षेत्रमा पहिरो, हिमनदी, हिउँको मात्रा, भूगर्भीय अवस्था, नदीको बहाव र मौसमलाई एकीकृत रूपमा निगरानी गर्ने प्रणाली आवश्यक देखिएको छ ।
जोखिमयुक्त क्षेत्रमा सर्भिलेन्स क्यामेरा तथा सेन्सर स्थापना, वास्तविक समयको नदी बहाव र सतह मापन, स्याटलाइट तथ्याङ्कको उपयोग, नियमित जोखिम मूल्याङ्कन तथा चीन र भारतसँग तथ्याङ्क आदान–प्रदानलाई संस्थागत गर्न सके हिमाली बाढीबाट हुने क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्न सक्ने विज्ञहरूको निष्कर्ष छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्